काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरेका छन् ।
आईतबार बिहान सरकारी निवास बालुवाटारबाट देशभित्र र वाहिर रहेका समस्त नेपालीलाई शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले मुलुक सम्मुन्नत विकासको पथमा लम्किएको भन्दै २०७६ साल विशेष उपलब्धिमूलक बर्ष हुने बताए । २०७५ साल नीति निर्माण र विकासको आधार तयार गर्ने सन्धर्भमा पनि निकै उपलब्धिमूलक रहेको उल्लेख गरे ।
उनले एक बर्षमा सरकारले कामै गरेन भन्नु भन्दा पनि सरकारले अघि सारेका कार्यक्रमको प्रगतीका बारेमा प्रश्न गर्न सुझाए । उनले भने“ सरकारलाई यसरी प्रश्न गरौ आउनुहोस् हामी सिकाउछौ । यो बर्ष के के काम भए ? नीति कति बने ? पहिले नचलेका विमानस्थल अहिले कति संञ्चालनमा आए ? आजै बाट सुरु हुने जेष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रमले के लाभ दिन्छ ?”
तथ्य र तथ्यांक सहित व्यवहारबाट जवाफ दिन सरकार सधै तयार रहेको उनले स्पष्ट पारे ।
सुशासनको शत्रु भ्रष्टाचार भएको भन्दै उनले ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने –भ्रष्टचारीलाई कारवाही गर्दा त्यसको मुख नहेर्ने‘ आफ्नो दृढ सार्वजनिक घोषणा भएको उल्लेख गरे । उनले राज्यको सम्पति माथिको अनधिकृत दोहनलाई सरकारले छुट नदिने बताए । भ्रष्टाचार विरुद्धको लडाई चुनौतिपुर्ण भएकाले लामै समय लिने भएपनि जुनसुकै मुल्य चुकाएर भएपनि भ्रष्टाचार उन्मुलन गरि छाड्ने अभियानमा आफु प्रतिबद्ध रहेको जनाए ।
सम्बृद्धिको पुर्व सर्त शान्ति भएको भन्दै उहाँले शान्तिका लागि वितेको बर्षमा मुलुकले राजनीतिक रुपले महत्वपुर्ण उपलब्धि हासिल गरेको दाबी गरे । उनले सिके राउतसंग भएको राजनीतिक सहमति निकै महत्वपुर्ण भएको उल्लेख गरे । उनले भने “अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउदै आएको समुहले नेपालको संविधान अनुरुप राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय होइन । यससंगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउदा मैले सन्तोष अनुभव गरिरहेको छु । ”
विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद र त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको भन्दै उनले सबै खाले अतिवाद असान्ति र आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गरिने प्रतिवद्धता जाहेर गरे ।
उनले भने “लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन । शान्तिपुर्ण रुपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभुत गरेको छ । तर अबाञ्छित प्रतिगामी प्रयासहरु र संविधान विरोधी गतिविधिहरु कडाईका साथ नियन्त्रण गरिने छ । राजनीतिक रंग दिएर हिंसालाई उचित नठह¥याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु । ”
उनले जालझेल गरेर व्यक्तिका नाममा कायम गरिएका सरकारी जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। ओलीले राज्यको सम्पत्तिको अनधिकृत दोहन गर्नेलाई छुट नदिइने बताए। उनले विदेशी विनियम कारोबार, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अनुचित कामको छानबिन जारी रहेको बताए।