अत्तरिया – कैलाली जिल्ला हात्तीपाईले निवारण गर्नमा फेल भएको छ । सरकारले तोकेको समयमा ६ पटक औषधी खुवाउदा पनि लक्ष्य पुरा हुन नसकेपछि पुनः औषधी खुवाउन लागिएको हो । लगातार ६ वर्षसम्म औषधी खुवाईएको ठाउँमा प्रिभालेन्स दर १ प्रतिशत भन्दा कम हुनुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता भएपनि कैलालीमा भने त्यो लक्ष्य पुरा नहुँदा पुनः २ पटक औषधी खुवाउनु पर्ने भएको हो । गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिर बहादुर कुवरले विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगको प्रिभालेन्स दर १ प्रतिशत भन्दा कम हुनुपर्ने भएपनि कैलालीमा १ दशमलव ४७ प्रतिशत भएकाले ७ औं पटक औषधि खुवाउनु परेको बताए । उनले ६ पटक खुवाउँदा लक्ष पुरा नभएकाले अव लगातार २ पटक औषधी खुवाउनु पर्ने बताए । सुदूरपश्चिमका कैलाली बाहेकका जिल्लामा ६ पटक औषधी खुवाउदा प्रिभालेन्स दर १ प्रतिशत भन्दा कम भईसकेको भएपनि कैलालीमा भने सरकारले तोकेको समयमा लक्ष्य पुरा हुन नसक्दा पुनः औषधी खुवाउनु पर्ने भएको हो ।
अभियान अन्तरगत गोदावरी नगरपालिकामा माघ २५ गतेदेखि हात्तीपाईले रोग विरुद्धको औषधि खुवाईने भएको छ । आईतबार अत्तरियामा हात्तीपाईले रोग निवारण कार्यक्रम २०७६ अन्तरगत आयोजना गरिएको नगरस्तरीय अभिमुखिकरण गोष्ठीमा सो कुराको जानकारी गराईएको हो ।
अभियानलाई सफल पार्न गोदावरी नगरपालिकाले माघ २५ देखि १० दिन सम्म यो अभियान सञ्चालन गर्ने लक्ष राखेको छ । अभियान सफल पार्न यसअघि महिला स्वास्थ्य स्वयम सेविका परिचालन गरिदैं आएकोमा अभियान प्रभावकारी बनाउन अव भने स्वास्थ्य कर्मि नै औषधी वितरणमा खटाईने स्वास्थ्य शाखा प्रमुख कुवरले बताए । जसका लागि १ स्वास्थ्यकर्मि बरावर प्रति दिन ५० घरमा औषधी खुवाउने लक्ष्य राखिएको छ । गोदावरी नगरपालिकामा हाल १६ हजार ९ सय ७८ घरघुरी रहेका छन ।
नगरस्तरीय अभिमुखिकरण गोष्ठीमा बरिष्ठ मेडिकल अफिसर डा. पदम प्रकाश देव शर्माले हात्तीपाईले रोगको बारेमा जानकारी दिएका थिए । उनले लामखुट्टेको कारण संक्रमित मानिसबाट निरोगी मानिसमा हात्तीपाईले सर्ने भएकाले लामखुट्टेको टोकाईबाट बच्न आवश्यक रहेको बताए । उनले हात्तिपाईले लागेपछि निको नहुने भएकाले यसबाट बच्न औषधी सेवन एकदमै आवश्यक रहेको बताए । उनले औषधी सेवनबाट कुनै पनि समस्या नहुने भएकाले ढुक्क भएर औषधी खान सबैलाई आग्रह गरे ।
त्यस्तै गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुवँरले हात्तीपाईले निवारणको अवस्थाका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । उनले हात्तिपाईले निवारणमा गोदावरी नगरपालिकामा ७८ दशमलव ८ प्रतिशत प्रगती भएको बताए । उनका अनुसार हाल बिश्वमा ५० देशका ८५ दशमलव ६ करोड मानिस यो रोगको जोखिममा छन भने नेपालका ६३ जिल्लाका २ दशमलव ५ करोड मानिस जोखिममा छन । नेपालमा ३० हजार मानिसमा हाईड्रोसिलको समस्या देखिएको छ । जसमद्ये केहिमा हात्तीपाईले हुन सक्ने आशंका गरिएको छ । बिश्वमा अहिले १४ देशमा यो रोग निवारण भईसकेको छ भने नेपालमा ५० जिल्लामा यो औषधी खुवाउन बन्द गरिसकिएको छ । स्वास्थ्य शाखा प्रमुख कुवँरले सुदूरपश्चिमका अन्य जिल्ला पास हुँदा पनि जनचेतना बढी भएर पनि कैलाली फेल हुनुका कारण ‘जो बाठो उही बिगार्ने’ जस्तै भएको बताए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमका गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत, गोदावरी नगरपालिकाका वडा अध्यक्ष लगायतका जनप्रतिनिधी, नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य साखाका बिश्नु जोशीले गरेका थिए ।