काठमाण्डौ - नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्या नरहेको भन्दै एक दशक अघि घोषणा गरिए पनि अझै १७ जिल्लामा यसको जोखिम कायमै रहेको छ । सुदूपश्चिम प्रदेशको कैलाली र अछाम सहित देशभरका १७ वटा जिल्लाहरु यो रोग कायमै रहेको हो ।
कैलाली , अछाम , उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ । संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगको निवारणमा सरकारले प्राथमिकता नदिँदा बिरामी घट्नुको साटो बढिरहेका छन् ।
आर्थिक वर्ष ०७५ र ७६ मा मात्रै तीन हजार दुई सय ८२ बिरामी पत्ता लागेका छन । दुई हजार नौ सय २१ बिरामीले कुष्ठरोगको औषधि खाइरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । प्राथमिकतामा नपर्दा सन् २०२० सम्म देशबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको रणनीति असफल भएको छ । बालबालिकामा अझै यो रोग देखिनुको अर्थ रोगको प्रकोप बढ्दै गएको विशेषज्ञहरुले बताएका छन् ।
लगानी नै न्यून भएकाले रोग नियन्त्रणका गर्न चुनौती खडा भएको महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपागंता व्यवस्थापन शाखाका निमित्त प्रमुख डा. उत्तम घिमिरेले बताए । घरदैलोमा पुगेर बिरामी खोज्ने र उपचारमा ल्याउने कार्यक्रम रहेको बताउदै उनले त्यो अत्यन्तै खर्चिलो भएपछि आफुहरुले निरन्तरता दिन नसकेको बताए ।
कुष्ठरोग नियन्त्रणका लागि सरकारले करिब १७ करोड बजेट छुट्याएको छ । नयाँ रणनीति अपनाएर कुष्ठरोग नियन्त्रण गर्नतर्फ लाग्नुपर्ने डा. घिमिरेले बताए । रोग उन्मूलन अभियान अन्तर्गत बिरामीको घर समुदायमा पुगेर उनीहरूलाई पनि उपचार, परामर्श गर्ने सरकारको योजना भए पनि अहिले रोकिएको छ ।
बिरामी माथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको छ । बिरामीले छोएको नखाने, छिछिः दुरदुर गर्ने र बिरामी घरबाटै निकाल्ने प्रवृत्ति हट्न सकेको छैन । शरीरमा फुस्रो र नदुख्ने दाग देखिनु यो रोगको प्रमुख लक्षण हो ।
रोग देखिना साथ औषधि सेवन नगरेका कारण नेपालमा ३० हजार व्यक्ति अंगभंग भइसकेका छन । पछिल्लो जनगणना अनुसार नेपालमा पाँच लाख व्यक्तिमा अपांगता छ । अपांगताको दुई प्रतिशत कुष्ठरोगका कारण हुने गरेको इपिडिमियोलोजीको तथ्यांक छ । सामान्य लक्षण देखिनेबित्तिकै उपचार गरे अपांगता हुनबाट बच्न सकिने डा. उत्तम घिमिरेले सुझाव दिएका छन् ।