काठमाडौं – नेपालको सार्वजनिक ऋण ११ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनासम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण ११ खर्ब ५ अर्ब पुगेको हो । यसमध्ये बाहृय ऋण ६ खर्ब ५४ अर्ब ४ करोड र आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ रहेको छ । सरकारले बजेटरी वा गैरबजेटरी रुपमा विकास निर्माण तथा सार्वजनिक प्रयोजनमा लिएको ऋण नै सार्वजनिक ऋण हो ।
आर्थिक वर्षको ६ महिनामा अघिल्लो तीन महिनाको तुलनामा २२ अर्ब ५७ करोड रुपैयाँले बाहृय ऋण वृद्धि भएको छ । आन्तरिक ऋण भने केही घटेको छ । आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा बाहृय ऋण ३.५७ प्रतिशतले बढेको हो ।
यसबीचमा नेपाली मुद्रा कमजोर भएका कारण समेत सार्वजनिक ऋण बढ्नुमा भूमिका खेलेको महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ । अहिले आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ छ भने ११ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ छ ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको थियो । चालु आवमा भने सरकारले वैदेशिक ऋण सहायता उल्लेख्य स्वीकार गरेको छ ।
जीडीपीको ३१.९० प्रतिशत ऋण
नेपालको कूल गार्हस्थ उत्पादन जीडीपीको ३१.९० प्रतिशत सार्वजनिक ऋण पुगेको छ । पहिलो त्रैमासिकमा यस्तो अनुपात ३१.३२ प्रतिशत रहेको छ । कूल गार्ह्रस्थ उत्पादनको तुलनामा भने नेपालको सार्वजनिक ऋणलाई विज्ञहरु संतोषजनक नै मान्छन् ।
जीडीपीको १८ दशमलव ८७ प्रतिशत बाहृय ऋण छ भने १३ दशमलव ०२ प्रतिशत आन्तरिक ऋण रहेको छ । नेपालको जीडीपी भने ३४ खर्ब ६४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रहेको छ ।
आव २०७५÷७६ को अन्त्यसम्म सरकारी ऋण कूल गार्हस्थ उत्पादन ९जीडीपी०को ३०.०६ प्रतिशत रहेको थियो ।