अत्तरिया- आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज वैशाख १ गते देश विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाइ रहेका छन् । विक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ ।
आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको राम्रा÷नराम्रा कामहरुलाई सम्झिदै नयाँ बर्षमा सफलता पाउन नयाँ योजना र जोस जागरका साथ कामको सुरुवात गर्ने गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।
नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ । नयाँ वर्षको दिन सुदुरपश्चिमका धार्मीक क्षेत्रहरुमा बिहानैवाट दर्शनार्थीको घुइँचो लागेको छ । कैलालीको प्रमुख धार्मीक एबम् पर्यटकिय क्षेत्र गोदावरी धाममा दर्शन एवम् पूजा आजा गर्नेहरुको पनि बिहानैवाट भिड लागेको छ ।
यसैबिच आज सुदुरपश्चिम प्रदेशमा सुदुरपश्चिमको छुट्टै मौलिक पर्वका रुपमा रहेको बिसु पर्वको रौनक छाएको छ । हरेक वर्षको अन्तिम दिन र वर्षको पहिलो गरी दुई दिन सम्म यो वर्ष मनाउने गरिन्छ । वर्षको अन्तिम दिनलाई बिदाई गर्दै र नया बर्षको सुरुको दिनलाई स्वागत गरेर बिशु पर्व मनाउने चलन रहेको छ ।
बर्षको अन्तिम रात आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाइलो गर्ने र वर्षभरिको समीक्षा गर्ने गरिन्छ । मरुला भनेर बिशु खानु, बाँचे भनेर वल्के खानु भन्ने भनाइले सुदूरपश्चिममा मनाइने दुई मौलिक पर्वको विशेषता झल्काउने गर्दछ ।
नेपालीहरुले बिषेश गरेर आजको दिनमा बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने पिकनिक खान जाने र मन्दिरमा गएर पूजा गर्नछन् । नयाँ वर्षको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।