एजेन्सी – ६ दिनमा काम सक्ने गरी अस्पताल निर्माणको काम सुरु भएको छ । वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ । अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ । १ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो सङ्क्रमण सुरु भएको थियो ।
यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार नयाँ अस्पतालमा १ हजार शैय्या हुनेछन् । चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले प्रकाशित गरेको भिडिओ फुटेजमा २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू देखाइएका छन् ।
सन् २००३ मा सार्स भाइरस सङ्क्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो । त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ ।
“यो सङ्क्रमणजन्य रोग लागेका मानिसलाई छुट्टै राखेर उपचारको प्रक्रिया अपनाइने र विभिन्न खाले सावधानी अपनाइने किसिमको अस्पताल हो“ हार्भर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोसल मेडिसिनकी लेक्चरर जोआन काउफम्यानले भनिन् । काउन्सिल अन फरेन रिलेसन्समा वरिष्ठ सदस्य यानझोङ हुआङले भने “चीनमा यस्ता किसिमका आयोजना एकदम छिटो सम्पन्न हुने गरेको रेकर्ड छ ।“
उनले बेइजिङमा एउटा अस्पताल सात दिनमा सम्पन्न गरेको भन्दै अहिले सम्भवत त्यो रेकर्ड तोड्ने गरी छ दिनमा बनाउने प्रयत्न गर्न लागिएको हुनसक्ने बताए । बेइजिङको जस्तै यो अस्पताल पनि प्रिफ्याब वस्तुबाट बनाइनेछ ।
“निरङ्कुश मुलुकमा यसप्रकारको माथिबाट तल परिचालन गर्ने प्रकिया अपनाइन्छ। त्यसले गर्दा प्रशासनिक र आर्थिक झमेलाबाट पार पाइन्छ र सबै खाले स्रोत परिचालन गर्न पाइन्छ ।“ हुआङले भने – समयमै योजना सम्पन्न गर्न देशका विभिन्न भू –भागबाट इन्जिनियरहरू ल्याइनेछन् ।
“चीनमा इन्जिनियरिङ कार्य राम्रो छ । त्यहाँ एकदम द्रुत गतिमा अग्ला भवन बनाइएको रेकर्ड पनि छ । यो पश्चिमाहरूका लागि अकल्पनीय छ। त्यो गर्न सकिन्छ,“ उनले भने । औषधिजन्य पदार्थ भने वुहानले अरू अस्पताल वा फ्याक्ट्रीबाट सजिलै ल्याउन सक्नेछ । शुक्रवार द ग्लोबल टाइम्सले चिनियाँ सेनाका १५० जना स्वास्थ्यकर्मी वुहान आइपुगेको पुष्टि गरेको थियो । तर तिनले नयाँ अस्पतालमा काम गर्ने हुन् कि होइनन् भन्ने कुरा भने उसले पुष्टि गरेको छैन ।
सार्स सङ्क्रमणका बेला के भएको थियो ?
सन् २००३ मा बेइजिङमा सार्स रोगका लक्षण भएका बिरामीको उपचार गर्न भनेर जियाओट्याङशन अस्पताल बनाइएको थियो । सात दिनमा अस्पताल निर्माण सम्पन्न भएको थियो । त्यसले संसारमा सबभन्दा छिटो अस्पताल बनाउने रेकर्ड पनि तोडिएको बताइएको छ । उक्त अस्पताल बनाउन ४००० मान्छेले दिनभर र रातभर काम गरेको चाइना डटकम डट सीएनले जनाएको छ ।
त्यहाँ एक्स रे कोठा, सीटी कोठा सघन उपाचार कक्ष र प्रयोगशाला थियो। हरेक वार्डमा आफ्नै शौचालय थियो । दुई महिनाभित्रै अस्पतालले देशभरका सात भागमा एक भाग सार्सका बिरामी भर्ना गरेको थियो ।
त्यसलाई राज्य नियन्त्रित सञ्चार माध्यमले “औषधिक्षेत्रको इतिहासमा जादु“ भनेर प्रशंसा गरेको थियो । काउफम्यानले भनिन, “स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो। अन्य स्वास्थ्य क्षेत्रका नर्स र डाक्टरलाई अस्पतालमा ल्याइएको थियो। उनीहरूका लागि स्वास्थ्य मन्त्रालयले नै तयार पारिदिएको सार्सका बिरामी चिन्ने र कसरी छुट्टै राखेर उपचार गर्ने भन्ने निर्दे्शिका पनि थियो ।“
उनका अनुसार सार्स प्रकोपका बेला उक्त संस्थाको खर्च स्थानीय क्षेत्रबाट जुटाइएको थियो । तर कर्मचारीको तलब र भवन निर्माणका लागि आवश्यक रकमको ठूलो प्रतिशत भने केन्द्रबाट मिलाइएको थियो । उनले भनिन, “यो उच्च प्राथमिकतामा परेको विषय भएको हुनाले म त्यसको भार वुहान सरकारलाई पर्छ भन्ने कल्पना गर्न सक्दिन ।“हुवाङका अनुसार “प्रकोप समाप्त भएपछि उक्त अस्पताल चुपचाप बेवारिसे बनेको थियो ।“ बीबीसी