कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ । बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको छ । घर–घर पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिईन् ।
कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशत भन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उनको दावी छ । केन्द्रमा वडा नं ६ र ७ का बासिन्दाले आवश्यक स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् । परिवार नियोजनका साधन मात्रै उपलब्ध हुने केन्द्रमा हाल ३५ प्रकारका औषधि निःशुल्क रुपमा पाइने गरेको छ ।
अहिले केन्द्रमा दैनिक ४० भन्दा बढी स्थानीय बासिन्दा सेवालिन जाने गरेका छन् । स्थानीय दानी गिरीले घर नजिकै स्वास्थ्य सेवा र औषधि उपलब्ध हुँदा सहज भएको बताए । यसैगरी शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नं १७ का बासिन्दाले सामान्य उपचारदेखि सुरक्षित मातृत्व सेवा पाउन थालेका छन ।
केन्द्रले वडा नं १७ देखि वडा नं ५, ११ र १२ का बासिन्दालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रअन्र्तगत चार वटा गाउँ घर क्लीनिक पनि सञ्चालन रहेको छ । केन्द्रका अनमी सारदा सिंहका अनुसार एक वर्षको अवधिमै चार हजार तीन सयले सामान्य उपचार सेवा पाएका छन ।
ती मध्ये ९ सय ३२ ज्येष्ठ नागरिकले रहेका छन् । सुरक्षित मातृत्व सेवा ८८ र परिवार नियोजन सेवा ९ सय ६६ ले लिएका छन । एक हजार ४२ बालबालिकाले पूर्ण खोप सेवा पाएका छन् । भीमदत्त नगरपालिका–१९ मा शहरी स्वास्थ्य केन्द्र भवन १६ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।
भवन निर्माण भएपछि गर्भवती जाँच, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट हँुदै आएको छ । केन्द्रबाट वडा नं २, १५, १८ र १९ का दैनिक ७० बासिन्दा लाभान्वित हुँदै आएका छन् । नगरपालिकाका १९ वटै वडामा जनप्रतिनिधि निर्वा्चित भएर आएपछि स्वास्थ्य सेवको पहुँच पुगेको छ ।
नगरपालिकाको वडा नं ९ मा शहरी स्वास्थ्य केन्द्र भवन १० लाखको लागतमा निर्माण गरिएको छ । केन्द्रको अर्को भवन २५ लाखको लागतमा चालू आवमा निर्माण हुने वडा अध्यक्ष राम नाथले जानकारी दिए । टुँडिखेलमा रहेको गाउँघर क्लीनिक भवन १० लाख र खल्लामा रहेको गाउँ घर क्लीनिक भवन १२ लाखमा निर्माण गरिएका छन ।
स्वास्थ्य केन्द्र वडामा नहुँदा विगतमा स्थानीय बासिन्दा उपचारका लागि निकटवर्ती भारतीय बजार टनकपुर जानुपर्दथ्यो । सो वडाको जनसङ्ख्या १० हजार रहेको छ। नगरपालिकाका सबै वडामा सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल १२ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । रासस