धनगढी-झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि आयोजना हुने भएको छ । प्रतियोगिता माघ १७ गतेदेखि २५ गतेसम्म धनगढी रंगशालामा आयोजना गर्नका लागि तयारी थालेको फारवेष्ट पशुपति युवा क्लबले धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । पाँचौं संस्करणको तयारी तिव्रताका साथ भईरहेको क्लबका अध्यक्ष खेम रावतले बताए ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगद पाउनेछन । सवै धनराशी जोडेर आठ लाख ८४ हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।
धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागीता रहने क्लबका सचिव ललित मिश्रले प्रतियोगिता हेर्नका लागि विद्यार्थी सहुलियतको पचास र अन्य दर्शकलाई एक सय रुपैयाँ टिकट दर समेत तोक्ने निर्णय क्लबले गरेको मिश्रले बताए । क्लबले पाँचौ संस्करणमा टिकटबाट पाँच लाख आम्दानी हुने अपेक्षा राखेको छ । पत्रकार सम्मेलनमै प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक, सह–प्रायोजक र टिकट प्रायोजकसँग सम्झौता समेत भएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहने भएको छ । प्रतियोगिताको पाँचौं संस्करणको नाम हाईलेण्डर फारवेष्ट पशुपति कप २०७६ रहने भएको छ । प्रायोजन सम्बन्धी सम्झौतामा आयोजक फारवेष्ट पशुपति युवा क्लबा तर्फबाट अध्यक्ष खेम रावत र हाईलेण्डर डिष्ट्रिलरी प्रालिको उत्पादन हाईलेण्डरका तर्फबाट एरिया सेल्स म्यानेजर तारा पन्तले हस्ताक्षर गरे ।
यस्तै प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेजसँग पनि सम्झौता गरिएको छ । क्लबका अध्यक्ष रावत र एडभेन्चर वेष्ट होलिडेजका सिईओ दिपक बम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयरसँग पनि पत्रकार सम्मेलनमै सम्झौता गरिएको छ ।
क्लबका अध्यक्ष रावत र एक्सप्रेस अटो केयरका सिईओ कृष्ण बोहोरा बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हक्लबका अध्यक्ष खेम रावतले प्रायोजकको अभावमा प्रतियोगिता आयोजना गर्न निकै कठिने हुने अवस्थामा हाईलेण्डर मुख्य प्रायोजक, एडभेन्चर वेष्ट होलिडेज सह–प्रायोजक र एक्सप्रेस अटो केयर टिकट प्रायोजकको रुपमा जोडिँदा प्रतियोगितालाई सफल पार्नका लागि मदत्त मिल्ने बताए ।