धनगढी – थरुहट थारुवान राष्ट्रिय मोर्चाले आफ्ना मागका बिषयमा सरकार गम्भिर नभएको भन्दै सङ्घर्षका कार्यक्रम सार्वजनीक गरेको छ । मोर्चाका संयोजक लक्ष्मण थारुले एक प्रेश विज्ञप्ती जारी गर्दै आफ्ना माग र मुद्दाहरु सरकारले नस्वीकारेन विशाल जनताका माझबाट आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘१३ बुदे मुख्य राजनीतिक मागहरू अहिलेसम्म सरकारले सम्बोधन गरेको छैन । न त थरुहट आन्दोलनकर्मीहरू संग नेपाल सरकारले २०६५ चैत्र १ गते भएको ६ बँुदे र २०६९ जेठ १० गते भएको १० बुँदे सहमती सम्झौतालाई कार्यान्वयन गरेको अवस्था छ । अधिकारका लागि शान्तिपूर्ण संघर्षमा होमिएका निहत्था, निअपराध थरुहट नेता एवं जनप्रतिनिधि मा. रेशमलाल चौधरी सहित थरुहट आन्दोलनकर्मीहरूलाई सुनियोजित रुपमा विभिन्न अभियोगमा झूठा मुद्दा लगाई जेलमा कोचिएको छ ।’ विज्ञप्तीमा झुटा मुद्धा लगाई फसाईएकालाई तत्काल रिहाई गर्न समेत माग गरिएको छ ।
विज्ञप्तीमा माग सम्बोधन गर्नका लागि बिभिन्न संर्घर्षका कार्यक्रम गरिने उल्लेख छ । जसअनुसार १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष, प्रतिपक्ष, विभिन्न राजनीतिक दलका नेताहरुलाई ५५ दिने अल्टीमेटम सहित ज्ञापन पत्र बुझाउने, संघर्षको लागि अपील गर्दै प्रचारात्मक तथा जनजागरण अभियान माघ १५ देखि मसान्तसम्म गर्ने ,माघ मसान्तसम्म प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ वडासम्म थरुहट थारुवान राष्ट्रिय मोर्चाको समितिहरु गठन गर्दै संगठन बिस्तार गरी शान्तिपूर्ण सशक्त संघर्षका लागि तयार गर्ने उल्लेख छ । त्यस्तै माघ १८ गते धनगढीमा संघर्षका लागि पहिचान पक्षधरहरुको बृहत अन्तरक्रिया गर्ने, माघ २४ गते संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षको सम्बन्धमा पत्रबाट जानकारी गराउने, माघ २५ गते काठमाण्डौ संघर्षका लागि पहिचान पक्षधरहरुको बृहत अन्तरक्रिया गर्ने उल्लेख छ ।
त्यस्तै फागुन १ गते कैलालीको धनगढीबाट लक्ष्मण थारुको नेतृत्वमा जेलबन्दीका परिवारहरुको सहभागितामा सामूहिक आमरण अनसनको थालनी गर्दै काठमाण्डौको माईतीघरमा पनि आवरण अनसन केन्द्रीत गर्ने, फागुन २ गते कैलालीका धनगढीमा विशाल विरोध जनप्रदर्शन गर्ने र सो जनप्रदर्शनको कोणसभमा पहिचानवादी शिर्ष नेताहरुबाट सम्बोधन गर्ने साथै थरुहट तराईका सबै जिल्लाहरुमा जनप्रदर्शन निरन्तर गर्ने र मागको सुनुवाई नभए तीन दिने बन्द तथा आमहड्ताल घोषणा फागुन ५ गते पत्रकार सम्मेलन गरी आह्वान गर्ने उल्लेख छ । माग पुरा नभए अनिश्चिम आमहड्ताल गर्ने विज्ञप्तीमा उल्लेख छ ।