अत्तरिया – विश्वका उत्कृष्ट २७ फलमध्ये एक नम्बरमा पर्ने किवी फल राखिएको स्टल अत्तरिया चलिरहेको महोत्सवमा आकर्षणको केन्द्र बनेको छ । पहिलो पटक अत्तरिया जारी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६’ राखिएको यो फल के हो भनेर बुझ्न आउनेलाई सम्झाउन भ्याईनभ्याई छ स्टलका किवी विक्रेता बिनय जंग बिष्टलाई । उनले यो फल के हो, कस्तो हुन्छ भन्ने मान्छे नै स्टलमा धेरै आउने गरेको बताए । किवीको प्रचारप्रसार गर्न किवीको स्टल राखेका बिष्टले महोत्सवमा धेरैले यहाँ पनि किवी हुने रहेछ भन्ने कुरा थाहा पाईरहेकाले खुसि लागेको बताए ।
डडेल्धुराको अमरगढी नगरपालिका १ दहमा श्री गणेशाय नमः कृषि फर्ममा उत्पादित किवी कृषि ज्ञान केन्द्र डडेल्धुराको सहयोगमा अत्तरिया महोत्सवमा पहिलो पटक राखिएको छ ।
फर्मका संचालक गणेश बहादुर ऐरले २०७० सालमा १ सय ५० बिरुवा रोपेर किवी खेती सुरु गरेको बताए । ‘जिल्ला कृषि कार्यालयको सहयोगमा ६ बर्ष अगाडी किवी खेती गरेका हौ । ४ बर्ष देखि किवीका बिरुवामा फल उत्पादन भईरहेको छ । अहिले महोत्सवमा प्रचार–प्रसार पनि राम्रो भईरहेको छ ।’ फर्म संञ्चालक ऐरले भने – ‘यो फल अन्य फलको राजा मानिन्छ । यो फलमा १० ओटा फलको एउटै फलमा स्वाद लिन सकिन्छ ।’

अहिले उनले ए ग्रेडको ६ सय बि ग्रेडको ५ सय रुपौयाँमा बारीबाटै बिग्री गरिरहेका छन । महोत्सवमा भने उनले सुपथ मुल्यमा ४ सयका दरले ए ग्रेडको किवी बिक्रि गरिरहेको बताए । उनले अहिले चाख्नका लागि भनेर २० र ३० रुपौयाँका प्लेट बनाएर पनि बिक्री गरिरहेका छन ।
‘सुदूरपश्चिममा भने यसको खासै बजार छैन । यहाँ यसको बारेमा धेरैले थाहा पनि पाएका छैनन् ।’ फर्म संञ्चालक ऐरले भने– ‘यसको बजार स्थानिय स्तरमा भन्दा पनि सिधै काठमाण्डौ पठाउने गरेका छौ ।’ उनले गत बर्ष किवी बिक्रीबाट ५ लाख आम्दानी गरेको बताए । उनले यसको बिरुवाले ५० बर्ष सम्म पनि निरन्तर फल दिने भएकाले यसबाट राम्रो फाईदा लिन सक्ने आशामा रहेको बताए ।
अन्डाकार फल हुने किवीलाई बोक्रा ताछेर खाईन्छ । किवी स्वास्थ्यका लागि पनि अति गुणकारी फल मानिन्छ । ६ बर्ष पहिले सुदुरपश्चिममै पहिलो पटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरिएको थियो ।
तत्कालिन जिल्ला कृषि विकास कार्यालयको पहलमा डडेल्धुरामा व्यवसायिक खेती गर्न कृषकलाई एक सयदेखि दुई सय वटा बिरुवा बितरण गरिएको थियो । लहरे बाली किवी लगाएको ३ वर्षदेखि फल्न सुरु हुन्छ । किवी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रुपमा पनि लिइन्छ । यो फल १२ सयदेखि २ हजार मिटर सम्मको उचाईमा खेती गर्न सकिन्छ ।