अत्तरिया – मजगाउँमा ‘माघ महोत्सव २०७६’ सुरु भएको छ । कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँमा रहेको थारु संग्राहलयको प्राङ्गणमा महोत्सव सुरु भएको हो । महोत्सवको बुधबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उद्घाटन गरेकी छिन् । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख कडायतले महोत्सवले थारु संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताईन् । उनले कला संस्कृतिको जगेर्ना गर्न महोत्सव आयोजना गरिए पनि यसले सबैमा भाईचारको समेत विकास गर्ने बताईन ।
तिन दिनसम्म सञ्चालन हुने महोत्सवमा थारु जातिसँग सम्बन्धित विभिन्न भेषभूषा, कला, संस्कृति झल्कने स्टलसँगै थारु समुदायका मौलिक खानाका परिकारहरू राखिएका छन् ।
‘थारु भाषा, संस्कृति, कला, गीतवास हमार पहिचान, अधिकार सुनिश्चितता अ संमृद्ध समाज निर्माण करना हमार साझा अभियान’ भन्ने नाराका साथ थारु कल्याणकाणी सभा गोदावरी नगर समितिले महोत्सवको आयोजना गरेको हो ।
थारु भाषा, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन कार्यक्रममा बिभिन्न थारु नृत्यहरू प्रस्तुत गरिएको थियो ।
महोत्सवमा थारु कलाकार मनिराम चौधरी, समिक्षा चौधरी, बसन्ती चौधरी, सोनु कुश्मी, रिता चौधरी लगायतका थारु तथा पहाडी कलाकारहरुले प्रस्तुती राख्ने महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोत्सवको उद्घाटन समारोहमा कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गोदावरी नगरपालिकाकी उपप्रमुख कडायतलाई मायायो चिनो सहित सम्मान गरिएको थियो ।
थारु कल्याणकाणी सभा गोदावरी नगर समितिका अध्यक्ष जनक लाल चौधरीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको संञ्चालन रोशन चौधरी र बिरेन्द्र चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य महोत्सव मुल आयोजक समितिका सचीव पुर्ण बहादुर चौधरीले राखेका थिए । महोत्सवको उद्घाटन समारोहमा स्थानिय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजसेवी, बुद्धिजिवी, कलाकार लगायतको सहभागीता रहेको थियो । महोत्वस माघ १० गते सम्म संचालन हुनेछ । महोत्सवमा बिभिन्न थारु परिकारका स्टल राखिएका छन । महोत्वसमा प्रवेश निःशुल्क गरिएको छ ।