बुढो हुँदै गएपछि शरीरमा निकै परिर्वतन आउँछन् । हाम्रो रुप, सोचाई, सोच्न सक्ने शक्ति, शारीरिक क्षमतालगायत सबैमा परिवर्तन आउँछ । हरेक अंगमा यसका बेग्लै कारण हुन्छन्।
कपाल
कपाल फुल्ने, झर्ने र खस्रो हुने हुन्छ । ढिलो चाँडो सबैमा यी परिवर्तन देखा पर्छन् । रौंमा भएको रंग उत्पादन गर्ने जीवकोष मेलानोसाइट कम हुँदै गएपछि कपाल र शरीरका अरु रौं फुल्न थाल्छन्।
अक्सिजन र अन्य पौष्टिक पदार्थ अपुग हुँदा रौंका जरा कम हुँदैं जान्छन् । पैतृक कारण पनि तालु खुईलिन्छ । उमेर बढ्दै जाँदा शुद्ध र प्रशस्त अक्सिजन भएको रगत छालासम्म पुग्दा केही कम भैसकेको हुन्छ । त्यसैले सानोतिनो घाउ पनि ढिलोसंग निको हुन्छ। रौं खस्रो र चाँडै टुक्रिने कारण पनि यसको बनौट फरक परेर हो।
छाला
छाला विषेश प्रकारको अंग हो । यो अत्यन्त संवेदशील पनि हुन्छ । छालाको बाहिरी र भित्री गरि दुई पत्र हुन्छन् । बाहिरी पत्रमा तह–तह परेका जीवकोष हुन्छन्। यसको मोटाई पैतालामा र हत्केलामा बाक्लो र अन्य भागमा पातलो हुन्छ। उमेर ढल्कँदैं जाँदा यो पत्रका जीवकोष बढ्न थाल्छन् र मरेका जति पनि थुप्रिन्छन्, जसले गर्दा छाला बाक्लो देखिन थाल्छ । नङ बाक्लो हुने कारण पनि यही हो।
चाउरी पर्नु
यो छालाको तन्कने र खुम्चिने गुण भएका कोल्याजन भन्ने अवयवमा परिवर्तन भएर देखिने प्रक्रिया हो । समानान्तर रुपले कोल्याजन फाइबर भएमा चाउरी देखिँदैंन । तर यी केस्रामा हाँगाहरु पर्न थाल्छन र यसले गर्दा छाला फुकेर आफ्नै ठाउँमा पूर्व रुपमै आउन पाउँदैंन । कालान्तरमा त्यहाँ चाउरी देखिन थाल्छ । छालामा हुने दुई प्रकारका पसिना ग्रन्थीले निकाल्ने श्रव पदार्थले छालालाई नरम र चिल्लो राख्छन् । यिनको कमीले छाला खस्रो हुन्छ र चिलाउने हुन थाल्छ। यस्तै, राता तथा काला थोप्ला देखिने, रगतका नसा देखिन थाल्ने पनि हुन्छ।
आँखा
बुढेशकाल आँसुको उत्पादन कम हुन सक्छ । जसले गर्दा आँखा बिझाएको जस्तो अनुभूति हुन्छ । कसै–कसैलाई धेरै वृद्धावस्थामा आँखाको माथिल्लो डिल माथि उठाउन गा¥हो पर्छ र आँखा चिम्लिएको जस्तो देखिन्छ । विशेष प्रकारका मांसपेशी कम हुँदैं र खिइँदैं जानाले पनि यस्तो भएको हो । तल्लो डिलमा यस्तो भएमा आँखा लोतिएको जस्तो र आँशु चुहिन थाल्छ।
दाँत
बुढेशकालका कारण होइन, दाँत गिजाको रोगले झर्छ । दाँतको इनामेल कम हुन सक्छ र धेरै तिखो पनि हुँदा चपाउँदा कहिलकाहीँ जिब्रो र गाला टोकिने हुन सक्छ।
कान
शरीर विज्ञानअनुसार हाम्रो तीन जोर कान हुन्छन् । हरेकपट्टि बाहिरी, मध्य र भित्री गरी तीन वटा कान हुन्छन् । बुढेशकालमा यी तीनै कानमा समस्या देखा पर्न सक्छन्।
पेट
बुढेसकालमा पेटभित्रका श्रावगन्थ्री कम हुन्छन् । यसले गर्दा कसैलाई पेट पोलेको अनुभव पनि हुन्छ । खाना खाएको तीन घण्टामा पेट रित्तिनु पर्नेमा त्यसो हुँदैन । भोक कम लाग्छ । कसैलाई यस्तो समस्या बढी हुन्छ । डकार आउने, मुखबाट दुर्गन्ध आउने हुन्छ । यस्तो समस्यालाई ग्याष्ट्रोटाइटिस भनिन्छ।
फोक्सो
फोक्सोले श्वास फेर्न सक्ने क्षमता तथा कार्बनडाइअक्साइड फालेर अक्सिजन लिन सक्ने क्षमता घट्छ । कफ कम र बाक्लो हुन्छ । त्यसैले न्यूमोनिया र अन्य रोग लाग्ने सम्भावना हुन्छ।
यस्तै, मुटुको कार्यक्षमता घट्ने, मष्तिष्कको वजन केही घट्ने, शारीरिक सन्तुलन बिग्रने, दुइवटै मिर्गौलाको क्षमता कम हुँदैं जाने, प्रोष्टेट ग्रन्थी बढ्ने, पैतालाको स्नायु कमजोर हुने, तिर्खा कम लाग्नेज्स्ता समस्या बुढेशकालमा देखिन्छ।
डा. प्रसन्नचन्द्र गौतम, वरिष्ठ वृद्धरोग विशेषज्ञ