कञ्चनपुर – नेपाल भारतका अधिकारी बीच सीमा सर्वेका क्रममा देखिने विवाद संयुक्त रूपमा बसेर छलफल गरी समाधान गर्न सहमत भएका छन ।
शुक्रबार नेपाल भारतका अधिकारीबीच सीमा व्यवस्थापनका सम्बन्धमा भारतीय बजार बनवासामा बसेको बैठकले जीर्ण अवस्थाका सीमा स्तभ मर्मत गर्ने र हराएका सीमा स्तम्भको खाजी गर्ने सहमति गरेका छन् ।
सीमा स्तम्भ नम्बर सात सयदेखि आठ सय ११ सम्मको जोर सीमा स्तम्भ भारतले मर्मत गर्ने र विजोर सीमा स्तम्भ नेपालले मर्मत गर्ने, पुनः स्थापन गर्ने समहमती भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए ।
उनका अनुसार कैलालीको खैक्रोला देखि कञ्चनपुरको खल्लामुसेटी सम्मका सीमा स्तभहरू पुनः निर्माण तथा मर्मतसम्भार गर्ने सहमति भएको छ ।
सीमामा हुने अपराध नियन्त्रणका लागि संयुक्त पहल गर्ने, कुनै ठाउँमा विवाद देखिएमा दुवै देशका सुरक्षाकर्मीको आपसी समझदारीमा हल गर्नेलगायतको विषय सहमति भएको छ ।
बैठकमा नेपालको कैलाली र कञ्चनपुर तथा भारतको लखिमपुरखिरी, उद्यमसिंह नगर र चम्पावतका सुरक्षा प्रमुख, नापी कार्यालयका प्रमुखहरू तथा जिल्ला प्रमुखहरूको सहभागीता रहेको थियो ।
सहमतीमा नेपालका तर्फबाट कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्य तथा भारतको चम्पावतका जिल्ला अधिकारी(डिएम) सुरेन्द्र नारायण पाण्डेयले हस्ताक्षर गरेका छन् ।