काठमाण्डौं – मौसम पूर्वानुमानलाई ‘भविष्यवाणी’ कै रुपमा बुझिन्छ । तर, यो कुनै हचुवाको रुपमा गरिएको भविष्यवाणी नभएर पृथ्वीको वायुमण्डलमा रहेको वर्षा, हावाको गति–दिशा, सापेक्ष आद्रता, वायुमण्डलीय चाप, सूर्यको प्रकाश, हिँउ र तापक्रमका आधारमा गरिने हिसाव–किताब हो ।
विश्वकै वायुमण्डलीय अवस्था हेर्न हावाको गति, बादलको किसिम, सुर्यको प्रकाशको अध्ययन गरिन्छ । यस्तै महादेश, देश हुँदै कुनै ठाँउको मौसमको अवस्थाको हिसाब गरिन्छ । थुप्रै ठाँउको डाटालाई हेरेपछि आज वा भोलिको मौसम कस्तो रहन्छ भनेर पूर्वानसमान लगाउन सकिन्छ । मौसम पूर्वानुमान डिभिजनका मौसमविद् समिर श्रेष्ठका अनुसार विभिन्न सुत्रहरु प्रयोग गरेर ७२ घण्टाको पूर्वानुमान गर्न सकिन्छ । एउटा सानो अंकमा फरक पर्ने वित्तिकै अनुमान फेल हुन्छ ।
मौसम अनुमानबारे राखिएको जिज्ञासामा उनले भने, ‘गणितीय डाटा निकाल्ने तरिका जान्न त पुरै कोर्स पढ्नुपर्छ । काठमाडौंबाट चलेको हावाको दिशा र गतिअनुसार चितवन तर्फ जाँदैछ भन्न सकिन्छ । प्राकृतिक कुरा हो, मुग्लिनबाट मोडिएर गोर्खातर्फ पनि जान सक्छ । अवस्था हेरेर एउटा अनुमान मात्र गर्ने हो । मौसमको पूवार्नुमान सत्प्रतिशत मिल्दैन ।’
आकासमा रहेका स्याटेलाइटहरुबाट पाइने डाटालाई मात्र आधार बनाउँदा केही घण्टाको मौसम पूर्वानुमान गर्न सकिन्छ । २०७३ सालभन्दा पहिला स्याटेलाइटले दिने तथ्याङकका आधारमा गरिने मौसम पूर्वानुमान कमै मिल्थ्यो । अहिले राडार, तातो बेलुन र स्याटेलाइटका दिने डाटाको प्रयोग गरिन्छ । स्याटेलाइटले आकासबाट तलको अवस्था खिच्छ । राडारले तलबाट आकासको अवस्थाको सूचना निकाल्छ । यसले गर्दा धेरै हदसम्म मौसमसम्बन्धी गरिएको अनुमान मिल्ने गर्छ ।
अहिले अन्तरिक्षमा राखिएका ‘एड्भान्स स्याटेलाइट’ ले पृथ्वीको जुनसुकै ठाँउमा एक वर्ग किलोमिटर लम्बाइ र यतिनै क्षेत्रफलको चौडाइमा वायुमण्डलीय अवस्थाको स्पष्ट डाटा दिन सक्छन् । विकसित देशले योभन्दा पनि एड्भान्स डाटा निकाल्न सकिने क्षमताका स्याटेलाइट प्रयोग गरेका छन् । नेपालले अहिलेसम्म जापान र चीनको स्याटेलाइटबाट वायुमण्डलको डाटा प्राप्त गर्छ । नेपालमा अहिले एउटामात्र मौसमी राडार छ, जुन सुर्खेतमा जडान गरिएको छ । यो राडारले आफु रहेको ठाँउबाट ४ सय किलोमिटर वरपरको मौसमसम्बन्धी विवरण संकलन गर्छ । यसकै आधारमा मौसमी अवस्था आँकलन गरिने मौसाविद् श्रेष्ठले बताए ।
मौसम पूर्वानुमान महाशाखाले तातो बेलुन उडाएर पनि वायुमण्डलीय अवस्थाको तथ्याङ्क संकलन गर्दै आएको छ । प्रत्येक दिन बिहान किर्तिपुरबाट तातो बेलुन उडाइन्छ । तातो बेलुनमा आद्रता, तापक्रम, हावाको गतिलगायतका तत्व नाप्न सेन्सर जडान गरिएको छ । यसबाट पनि विभिन्न ठाउँको मौसमको पूर्वानुमान हुँदै आएको छ ।