डडेल्धुरा – सुदूरपश्चिम प्रदेश भौगोलिक रुपमा जति विकट भनेर चिनिन्छ । प्राकृतिक रुपमा उत्तिकै रमणीय पनि छ । प्रकृतिको उपहार सँगै सुदूरपश्चिममा धार्मिक पर्यटनका थुप्रै आकर्षक गन्तव्यहरू छन् । ती मध्येको एक हो, परशुरामधाम । ‘सबै तीर्थ पटक–पटक, परशुरामधाम एकपटक’ स्कन्दपुराणको मानसखण्डमा उल्लेखित यो भनाइले नै परशुरामधामको धार्मिक महत्व दर्शाउँछ ।
सुदूरपश्चिम प्रदेशकै पवित्र तीर्थस्थल परशुरामधाम डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा पर्दछ । श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नी र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ ।
एला र श्यामाको संगममा जगदग्नी पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ । हैयेय वंशी क्षत्रीहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ ।
महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ । त्यस्तै गंगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले पितृ उद्धार तथा देवलोक प्रप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको परशुराम तीर्थ महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ ।
परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको छ । गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । त्यसमा पनि मकर स्नान अर्थात माघ स्नानको निकै ठूलो महत्व रहेको छ । स्नान सँगै पितृ कार्य, देव पूजन, यज्ञयज्ञादि विधि पूर्वक गर्ने गरिन्छ ।
यज्ञादि सँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ । रथ पूजनको विशेष महत्व रहेको छ । विष्णु कुण्डमा विष्णु, वामदेव, कुण्डमा शिव, परशुराम कुण्डमा परशुराम भगवानको पूजा र नदीतटमा रहेको शिवलिंगमा शिवपूजनको विशेष महत्व रहेको छ ।
हरेक वर्षजस्तै यस वर्ष पनि माघे सङ्क्रान्तिमा परशुरामधाममा मेला लागेको छ । परशुरामधाममा पुस महिनाको मसान्त तथा माघे सङ्क्रान्तिका अवसरमा मेला लाग्ने गर्छ । परशुरामधाममा रहेका चुनढुंगा भगवान् परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ ।
पुस मसान्तको साँझ त्यहाँ पुगेर रातभरि मुडाको आगो तापेर भक्तजन जागाराम बस्ने गर्दछन् । त्यसो गर्नाले धर्म कमाइने आस्था रहेको छ । त्यसपछि माघ १ गते बिहानै ४ बजेबाट महाकाली किनारमा नुहाउने भक्तजन भीड लाग्छ । माघे सङ्क्रान्तिको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास रहिआएको छ ।
मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु आउने गरेको परशुराम क्षेत्र विकास समितिले जनाएको छ । रासस