अत्तरिया - आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व देशभर मनाईँदै छ । सनातन धर्मावलम्बीले बिहान सबेरै उठेर नदी, ताल , तलाउ जस्ता पवित्र स्थलमा गएर स्नान गरी चाकु, तरुल र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछन ।
माघिको अबसरमा हरेक बर्ष झै यस बर्ष पनि सुदुरपश्चिमको प्रमुख धार्मीक एबम पर्यटकिय क्षेत्र गोदावरीमा स्नान गर्न जाने भक्तजनहरुको भिड रहेको छ । कैलाली कञ्चनपुर सहित सुदुरपश्चिमका पाहाडी जिल्ला र छिमेकी भारतवाट पनि गोदावरीमा स्नान गर्नका लागि ठुलो संख्यामा भक्तजनहरु आउने गरेका छन ।
गोदावरीमा हिजोवाट बाह्र राशि दर्शन मकर मेला पनि सुरु भएको छ । १२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छ । गोदावरीमा लागेको मेला र नेपाल भ्रमण बर्षलाई लक्षित गरेर गोदावरी नगरपालिकाले हिजो र आज २ दिन अत्तरिया देखी गोदावरी सम्म निशुल्क १० वटा बस सेवा पनि शुरु गरेको छ । मघि बिभिन्न ठाउहरुमा फरक फरक तरिकाले मनाउने गर्दछन् ।
सनातन धर्मावलम्बीले माघी र मकर संक्रान्ति मनाइरहँदा थारु समुदायले भने आज नयाँ वर्षको रूपमा माघीको उत्सव मनाइरहेका छन् । यस्तै नेवार समुदायले ‘घ्यो चाकु सन्हु’मा रमाउँदैछ । तराईमा तिला संक्रान्ति मनाउने परम्परा छ । माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो । उनीहरुले यस पर्वलाई माघे सकराती भनी मनाउँछन्।
मगर समुदायमा आजको दिनमा चेलिवेटी पुज्ने गरिन्छ । लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्वा तङनामको रुमा मनाउँदै आएका छन् ।उनीहरुले आजको दिनलाई येले सम्बत् सुरु भएको दिनको रुपमा नयाँ वर्षको रुपमा मनाउँछन्। विशेषगरी सुदुरपश्चिमको बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली कन्चनपुर, दार्चुला, बैतडीका समुदायले यो पर्वलाई माघेत्यार नामले चिन्ने गर्दछन् ।
‘त्यार’ स्थानीय भाषाको शब्द हो यसकोे अर्थ चाड पर्व भन्ने हुन्छ । माघेसंक्रान्तिमा मनाईने भएकाले यो पर्व माघेत्यारको नामले प्रचलित छ । सौरमानको पात्रोअनुसार वर्षमा बैशाखदेखि चैतसम्मका बाह्र महिना छन्। ज्योतिषशास्त्र अनुसार यी महिनाहरूमा मेषदेखि मीनसम्मका बाह्र राशीमा सूर्य रहने गर्दछ। सूर्यले एक राशीमा एक महिना बिताउने गर्दछ।
यसरी नै सूर्य एक राशीबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ। यसैले माघ १ गतेलाई माघे संक्रान्ति भनिएको हो। यो दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर संक्रान्ति पनि भनिन्छ। विवाह, व्रतबन्ध लगायतका मांगलिक कार्य गर्न पनि माघ उपयुक्त महिना हो । सूर्यको किरण तेजिलो हुँदै जाने, विस्तारै दिन लामो हुँदै जाने, चिसो कम हुँदै जाने लगायतका कारण पनि माघलाई विशेष महत्त्व दिइएको हो ।