अछाम – अछाममा १० बर्षमा १४ किशोरी तथा महिलाले ज्यान गुमाएको पार्र्ईएको छ । जिल्ला प्रहरी कार्यालय तथा महिला विकास शाखा अछामका अनुसार अछाममा १० वर्षयता छाउगोठमा किशोरी तथा महिला गरी १४ जनाको मृत्यु भइसकेको छ । छोरी, बुहारी, दिदी–बहिनीको महिनावारी भएको बेला गोठमै मृत्यु हुँदासमेत अधिकतर महिलाहरू गोठमै सुत्ने गरेका थिए । परिवारको सदस्य गोठमै गुमाउनुपरेको पीडा बोक्दै किशोरी तथा महिलाहरू आफ्नोसमेत ज्यान जोखिममा राखेर गोठमै बसिरहेका हुन् ।
छाउपडी प्रथा मान्ने गलत संस्कारको कारणले गाज्राकी १५ वर्षीया छोरी रोशनीलाई गोठमै गुमाएको तीन वर्ष पुगेको छ । आफू समेत सुतेको बेला निसासिएर झन्डै ज्यान गएको रोशनीकी आमा दिलु तिरुवाले बताइन् । ‘महिनावारी भएका बेला बस्ने छाउगोठ हाम्रालागि कालको घरजस्तै हुन,’ उनले भनिन्, ‘घर–परिवारले नमान्दा छाउगोठमा त्यहाँ सुत्नुपर्ने बाध्यता छ ।’ त्यही छाउपडी गोठमा २०७३ पुस ३ गते छोरीको मृत्यु भएपछि गोठ भत्काएर केही समय घरमा सुतेको उनले बताइन् ।
‘छोरीको गोठमै ज्यान गएपछि दुई–तीन पालो महिनावारी हुँदा घरकै एउटा कोठामा बसेकी हुँ तर पछि सासुले नमान्दा पुनः गोठमा बस्नुप¥यो,’ उनले भनिन्, ‘सासुले घरमा बस्न कुनै पनि हालतमा नदिएपछि उहाँको चित्त दुखाएर बस्न सकिएन ।’
अहिले प्रहरीले छाउगोठ भत्काउन थालेपछि भने ज्यानमारा छाउगोठमुक्त हुने कुराले स्थानीय महिला खुसी छन् । ‘अहिले सबैतिर छाउगोठ हठाउँदै छन्, अब हामीलाई सहज हुने भयो,’ उनले भनिन् ।
भगवतीकी सासु डिक्रादेवी ढकालको २०६७ माघमा गोठमा सुतिरहेको बेला मृत्यु भएको थियो। ‘सासुको गोठमै ज्यान गएकाले छाउगोठमा एक्लै सुत्नुपर्दा डर लाग्थ्यो,’ उनले भनिन, ‘छाउगोठ हटाएपछि खुसी लागेको छ।’ आमाको छाउगोठमै अकालमा मृत्यु भएको र छाउगोठ हटाउने अभियान राम्रो भएको डिक्राका छोरा झनक ढकालले बताए ।
सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देशिका २०६४ समेत जारी गरिएको थियो । सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दा सम्म पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन । राष्ट्रसंघको मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा–पत्रमा, नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३ महिला अधिकारमा धार्मिक, सामाजिक, प्रचलन वा अन्य कुनै कारणले महिला माथि हिंसा तथा भेदवाव गर्न नपाइने व्यवस्था गरिएको छ। शारीरिक, मानसिक तथा सुरक्षाका हिसाबले पनि महिनावारी भएको समयमा महिलालाई झनै सुरक्षित स्थानमा बस्न दिनुको सट्टा धार्मिक कारण देखाउँदै असुरक्षित रूपमा गोठमा राख्ने गलत परम्पराले जरा गाडेकाले महिलाहरू हिंसाको सिकार बनिरहेका छन् ।
मुलुकी अपराधसंहिता विधेयक २०७४ ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे वा गराएमा अपराध मानेको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
यतिबेला अछामलगायत सुदूरपश्चिमका सबैतिर छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । सबैभन्दा बढी अछाममा छाउगोठ रहेका छन्। अहिलेसम्म अछाममा एक हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बोगटीका अनुसार कैलालीमा एक सय ३५, कञ्चनपुरमा चार, बाजुरामा पाँच र बझाङामा ३६ गरी एक हजार पाँच सय ३५ छाउगोठ भत्काइसकिएका छन्। प्रहरी परिचालन गरेर सबैतिर छाउगोठ खोज्दै भत्काउने कार्य जारी रहेको उनले बताए । बैतडी, दार्चुला, डडेल्धृुरा र डोटीमा अहिलेसम्म छाउगोठ फेला नपरेको र खोजी भइरहेको उनको भनाइ छ । –नागरिक