बेलौरी -नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले विकासका काममा अवरोध सृजना नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । कञ्चनपुरको बेलौरीमा आयोजित ड्वासर बेलौरी माघ मेलाको शनिबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा हुँदै आएका विकास निर्माणका कार्यमा कांग्रेसका प्रतिनिधिहरूले विभिन्न बहाना बनाएर अवरोध गर्ने र जनतामाझ भ्रामक प्रचार गर्ने गरेको भन्दै दु:ख व्यक्त गर्नुभयो ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका मन्त्री बिना मगरले जनताबाट प्रत्यक्ष निर्वाचित भएर आफ्नो निर्वाचन क्षेत्रको विकासको जिम्मेवारी अहिलेका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधिलाई भएकोले सके सहयोग गर्न, नसके अवरोध नगर्न सुझाव दिनुभयो । उहाँले निर्वाचनको समयमा गरेका प्रतिवद्धता क्रमिक रूपमा पूरा गरिरहेको दाबी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व सांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले यो क्षेत्रका जनताले क्याविनेट मन्त्री पाउँदा पनि सन्तुष्ट हुने कुनै आधार नरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफुले सांसद हुँदा गरेका काम जति पनि वर्तमान अवस्थामा हुन नसकेको आरोप लगाउँदै तत्कालीन क्रमागत योजनाहरूको बजेट कटौती गरिएको भन्दै आक्रोश पोख्नु भएको छ ।
“थारू एकता हमार सान, शिक्षा, भाषा, संस्कृति पौरहैती लैजैना हमार साझा अभियान” भन्ने नाराका साथ कञ्चनपुरको बेलौरीमा "ड्वासर बेलौरी माघ म्याला" आयोजना गरिएको छ । थारु कल्याणकारिणी सभा बेलौरीको आयोजनामा थारु समुदायको मुख्य चाड माघीको अवसर पारेर शनिबारदेखि मेला सञ्चालन गरिएको मेला मुल आयोजक समितिका संयोजक सुनिता चौधरीले बताउनु भयो ।
थारु समुदायको पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्ने मुल उद्देश्यका साथ शनिबारदेखि शुरूवात गरिएको मेला यही २८ गतेसम्म जारी रहने प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक कृष्ण गम्वाले बताउनु भयो । उहाँका अनुसार मेलाको प्रथम दिन शनिबार ४५ जनाले रक्तदान गरेका छन् भने २४५ भन्दा बढी व्यक्तिहरूले कानको नि:शुल्क चेकजाँच गराएका छन् ।
मेला उद्घाटन कार्यक्रममा एसइइ फारवेस्ट आईकन २०१८ बिजेता भावना चौधरी, बेलौरी नगरपालिका भित्रका गुरूवाहरू, यसईई २०७५ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा, उत्कृष्ट किसान, मिस्टर एण्ड मिस रानाथारू कल्चर आईडल २०७६ विजेतालाई समेत सम्मान गरिएको स्वागत तथा सम्मान व्यवस्थापक उपसमितिका संयोजक रेशम चौधरीले बताउनु भयो ।
त्यस्तै मेलामा थारु समुदायको मुख्य परिकार, रहनसहन र भेषभुषा सम्बन्धी १५ ओटा स्टल रहेका छन् भने थारु जातिको परम्परागत कला संस्कृति झल्कने झाँकी, मघौटा नाच, मुङ्गह्रवा नाच, झुम्रा नाच, थारु र गैरथारु राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक तथा झाँकी व्यवस्थापक उपसमितिका संयोजक बिक्रम चौधरीले बताउनु भयो ।
मेला संचालनका लागि झण्डै ११ लाख बराबर खर्च हुने अनुमान गरिएको छ । जसमध्ये ५ लाख रुपैयाँ सहआयोजक समेत रहेको बेलौरी नगरपालिका कार्यालयले उपलब्ध गराउने छ भने बाँकी विभिन्न क्षेत्रबाट प्रायोजक तथा सहप्रायोजक सहित सहयोगी हातहरुको पहलमा व्यवस्थापन भइरहेको आर्थिक व्यवस्थापक उपसमितिका संयोजक दिनेश चौधरीले जानकारी दिनुभयो ।