धनगढी-कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय बृद्धिचाल प्रतियोगिता सुरु भएको छ । कैलाली जिल्ला बृद्धिचाल संघको आयोजनामा आजदेखि २७ गतेसम्म धनगढीमा प्रदेश स्तरीय बृद्धिचाल प्रतियोगिता सुरु भएको हो । चेस खेलौ बढाउ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौं यही हाम्रो चाहना भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका बीच सुदुरपश्चिम प्रदेश सभा सदस्य पुर्णा जोशीले उद्घाटन गर्नुभयो । कैलाली जिल्ला वृद्धिचाल संघका अध्यक्ष जितवहादुर केपछाकीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठ विशिष्ठ अतिथि रहनु भएको थियो । प्रतियोगिताको पहिलो दिन विभिन्न तीन समुह अन्तर्गतका लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।
विभिन्न तीन विधामा भईरहेको बुद्धिचाल प्रतियोगिताका खेलाडीहरुलाई झण्डै एक लाख तीन हजार नगद पुरस्कार दिईने नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य धनबहादुर बोगटीले जानकारी दिनुभयो । प्रतियोगितामा खुल्ला अन्तर्गत प्रथमदेखि सातौं स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार दिइनेछ । प्रथम हुनेले नगद २५ हजार, दोस्रोले नगद १५ हजार, तेस्रो हुनेले नगद १० हजार, चौथो हुनेले नगद ७ हजार, पाँचौ हुनेले नगद ५ हजार, छैठौं हुनेले नगद ३ हजार र सातौं हुनेले नगद दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी विद्यार्थी तर्फ प्रथमदेखि पाँचौ स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । पहिलो हुनेले नगद ५ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो हुनेले २ हजार, चौथो र पाँचौ हुनेले नगद एक एक हजार पुरस्कार पाउने केन्द्रिय सदस्य बोगटीले बताउनुभयो । महिला तर्फका उत्कृष्ट तीनले पनि नगद पुरस्कार पाउने छन् । पहिले हुनेले नगद ५ हजार, दोस्रो हुनेले नगद ३ हजार र तेस्रो हुनेले नगद २ हजार पुरस्कार पाउनेछन् । दुई लाख वढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरीका ७० जनाभन्दा बढी खेलाडीको सहभागीता जनाएका छन् ।