काठमाण्डौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पाँच बुँदे सुझाव दिएका छन् । बिहीबार सभापति देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले विधानअनुसार पार्टी चल्नुपर्ने भन्दै देउवाको ध्यानाकर्षण गराएका हुन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले डाकेको परामर्श बैठकमा आएका जिल्ला सभापतिलाई देउवाले पनि भेट्न बोलाएका थिए । कांग्रेस नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीका अनुसार सभापति देउवालाई जिल्ला सभापति भेलाको निष्कर्षका रूपमा परामर्श पत्र पनि बुझाइएको छ ।
उक्त पत्रमा महासमिति बैठकले गरेका निर्णय क्षेत्राधिकार बाहिर गएर केन्द्रीय समितिले उल्टाएकोले सच्याउनु पर्ने उल्लेख छ । ‘महाधिवेशनमा सबैजना पार्टीको वडा तहबाट नै निर्वाचित भएर आउनु पर्ने र समानुपातिक र आरक्षण कोटामा एक व्यक्ति, एक पटकमात्रै अवसरको व्यवस्था लागू गरिनुपर्ने,’ माग पनि राखिएको केसीले जानकारी दिए ।
जिल्ला सभापतिहरूले गत वर्ष पुस ८ गतेसम्म चलेको महासमिति बैठकमा उक्त माग राखे पनि केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा राखिएको थियो । त्यो व्यवस्था हटाउन समेत उनीहरूले माग गरेका हुन् ।
पार्टीको महाधिवेशन पूर्ण बैठकले गरिनु पर्ने स्थापित मान्यता र परम्परा विपरीत पुस ११ गते बहुमत केन्द्रीय सदस्यले एकलौटी रूपमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको भन्दै जिल्ला सभापतिहरूले यो विवाद तत्कालै अन्त्य गर्न माग गरेका छन् ।
पार्टीको महाधिवेशन तोकि सकिएकोले विभागहरूमा मनोनयन जस्ता निर्णय निर्वाचन आचारसंहिता विपरीत हुने पनि उनीहरूको भनाइ छ । देउवाले २८ विभाग बढाएर ४७ र्पुयाउने निर्णय गरेपछि जिल्ला सभापतिले ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला सभापतिहरूले महाधिवेशन निष्पक्षताका लागि क्रियाशील सदस्यता छानबिन विशेष समिति गठन गर्न पनि सुझाव दिएका छन् । उनीहरूले पार्टी्भित्र भागबन्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिन पनि सुझाव दिएका हुन् ।
जिल्ला सभापतिले दिएको परामर्शपत्र बुझेपछि देउवाले आफूले सबैलाई मिलाएर लैजान चाहेको बताएका थिए । ‘म सबैलाई मिलाएर लैजान चाहन्छु,’ उनले भने ।