अत्तरिया – तीन वर्षामा सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा ४ सय ८२ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष ०७३ साउन देखि ०७६ असार मसान्त सम्म सवारी दुर्घटनामा ४८२ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष ०७३/७४ मा एक सय ३३, ०७४/७५ मा एक सय ५७ र ०७५/७६ मा १ सय ९२ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ । दुर्घटनामा मृत्यु हुनेमा कैलालीमा सबैभन्दा धेरै २०२ जना रहेका छन् ।
कञ्चनपुरमा ९२, डडेल्धुरामा ८१, बैतडीमा २६ र दार्चुलामा १८, डोटीमा ५१ र बाजुरामा १२ जनाको मृत्यु भएको छ । तीन वर्षको अवधिमा दुर्घटनामा एक हजार १८७ घाइते भएका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा भने सवारी दुर्घटनाबाट ५७ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन् । तीन वर्षको अवधिमा एक हजार ८६ दुर्घटना भएका छन् । ०७३/ ७४ मा तीन सय १२, ०७४/७५ मा तीन सय ७६ र ०७५/ ७६ मा तीन सय ९८ दुर्घटना भएका छन् । यस्तै चालु आर्थिक वर्षको मंसिर सम्ममा १३८ दुर्घटना भएका छन् । सबैभन्दा बढी दुर्घटना हुने जिल्ला कैलाली रहेको छ । कैलालीमा तीन वर्षको अवधिमा ३०५ सवारी दुर्घटना भएका छन् ।
यसैबिच ट्राफिक प्रहरीले बिगत तीन वर्षको अवधिमा एक लाख ४० हजार ४१ सवारी साधनहरुलाई कारबाही गरेको छ । सवारी साधनको अवस्था ठीक नभएका, क्षमताभन्दा बढी लोड बोकेका, तीव्र गतिमा सवारी चलाएका, अनुमति पत्र नभएका, मादक पदार्थ सेवन गरी सवारी हाँकेकाहरुलाई कारबाही गरिएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यालयका अनुसार सवारी साधनहरुलाई गरिएको बारबाहीबाट सो अवधिमा ८ करोड ८ लाख ८६ हजार रुपैयाँ राजश्व सकलन भएको छ । यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा थप एक करोड ९८ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
कैलालीमा सवैभन्दा बढी चार करोड ८५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । बझाङ्ग जिल्लामा भने राजश्व संकलन नभएको तथ्यांकले देखाउँछ ।