अत्तरिया – कैलालीको अत्तरीयामा हुने ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव’ को तयारी तिब्र भइरहेको छ । अत्तरियाको लामिताल परिसरमा यहि पुस २७ गते देखि माघ ७ गते सम्म आयोजना हुने महोत्सवका लागि महोत्सव स्थलमा स्टल बनाउने गेट बनाउने काम जारी रहेको अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ । ‘सम्वृद्ध सुदूरपश्चिम प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ हुन गईरहेका महोत्सवको पाँचौ सस्करणको तयारी ८० प्रतिशत पुरा भएको अत्तरिया उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक कमल कडायतले बताए ।
उनले महोत्सवका राखिने १ सय १५० स्टलको निर्माण, मञ्च निर्माण, प्रवेशद्धार, स्वागतद्धार निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले महोत्वसको तयारीमा सम्पुर्ण टिम उत्साहित भएर लागेको बताए । उनले महोत्सवमा आउन कलाकारको पनि टुङ्गो लागेको बताए ।
‘लामितालमा डुङ्गा चलाउनको लागि सम्भौता भएको छ, स्टल निर्माणको काम भईरहेको छ, मनोरन्जनको लागि बाल उद्यानका सामान झर्ने क्रममा छ, बिभिन्न झाकिहरुको तयारी भएको छ, कलाकारहरुको पनि टुङ्गो लागेको छ ।’ अध्यक्ष देवकोटाले भने –‘मौसम प्रतिकुल हुँदा केहि समस्या भएपनि सम्पुर्ण उद्योग बाणिज्य संघको टिम उत्साहित भएर महोत्सव तयारीमा लागेका छौ ।’
उनले यस बर्ष होटलका स्टल घटाईएको बताए । गत बर्ष २५ ओटा होटल रहेकोमा यस बर्ष भने १० ओटा मात्रै होटलका स्टल राखिएको बताए । महोत्सव परिसरमा मदिरा सेवनमा समेत पूर्ण प्रतिवन्ध लगाएको महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका देवकोटाले बताए ।
उनले महोत्सवको सुरक्षा रणनीति पनि बनिसकेको बताए । ‘बिगतका बर्षबाट पाठ सिकेर हामीले यस बर्ष प्राईभेट सेक्युरेटि, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरुक्षा दिन गरी सुरक्ष रणनीति बनाएका छौ ।’ अध्यक्ष देवकोटाले भने –‘प्राईभेट सेक्टरबाट ३० जना सुरक्षा कर्मिको व्यवस्था गरेका छौ । जसमा २० जना दिनको समयमा खटिने र १० जना रातिको समयमा बिभिन्न ठाउँमा खटिने छन ।’
उनले भ्रमण बर्षलाई पनि लक्षित गरी बिभिन्न ठाउँका सडकहरुमा १० ओटा स्वागतद्धार बनाईरहेको बताए । भ्रमण बर्षलाई जोडेर भारतको पलिया, वनवासाका व्यापार मण्डालका अध्यक्षहरु संग पनि समन्वय गरेर, भ्रमण बर्ष संगै, अत्तरियामा भईरहेको महोत्सव र यस क्षेत्रका प्रयटकिय स्थलको अवलोकन गरिदिन अनुरोध गरेको अध्यक्ष देवकोटाले बताए ।
महोत्सवलाई १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । १० दिनसम्म संचालन हुने महोत्सवमा ३ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ५० र विद्यार्थीहरुका लागि ४० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा सारीरिक अपाङ्गता र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको छ ।