अत्तरिया – सुन्दर सुदूरपश्चिम यातायात प्रालिले नेपाल भ्रमण बर्षलाई लक्षित गरी अत्तरिया–काठमाण्डौ स्तरीय एसी बस सेवा सुरु गरेको छ । मंगलबार कैलालीको गोदावरी २ मा रहेको अत्तरिया बसपार्कमा आयोजित एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले सेवाको उदघाटन गरेका हुन । नगरप्रमुख साउँदले सुन्दर सुदूरपश्चिम यातायात प्रालिको ना ८ ख ५३५६ नम्बरको बसलाई हरीयो झण्डा देखाएर सेवा सुचारु भएको घोषणा गरेका हुन ।
स्तरीय एसी बस सेवाको उद्घाटन गर्दै नगरप्रमुख साउँदले अत्तरियाबाट स्तरीय एसी बस सेवाले यस क्षेत्रबाट काठमाण्डौ जाने यात्रुले सहज रुपमा यात्रा गर्न पाउने बताए । उनले नगरपालिका सधै व्यवसायीहरुको हक हितका लागि लागिपर्ने बताए । गोदावरी नगरपालिका अन्तरगत रहेको बसपार्कलाई पनि व्यवस्थीत बनाउन नगरपालिले डिपिआर बनाएको बताउँदै नगरप्रमुख साउँदले अत्तरिया बसपार्कलाई क्षेत्रीय बसपार्कका रुपमा विकास गर्न नगरपालिका लागिपरेको बताए । उनले नगरपालिकाले बसपार्कलाई व्यवस्थित बनाउन डिपिआर पनि बनाईसकेकाले छिटै बिसपार्क निर्माणको काम अगाडी बढ्ने दावी गरे । ‘बसपार्कको सुरक्षाका लागि पनि ईलाका प्रहरी कार्यालय संग समन्वय गरिरहेका छै । बसपार्कमा सिसिटिभि क्यामेरा पनि जडान गरेका छौ ।’ नगप्रमुख साउँदले भने –‘बसपार्कको विकासका लागि सबैले आ– आफ्नो ठाउँबाट जवाफदेहिता लिनुपर्छ ।’
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम राज सापकोटाले स्तरिय सेवा दिनको लागि अत्तरियाबाट ३७ सिट भएको एसी बस सेवा सुरु गरेको बताए । उनले सुन्दर सुदूरपश्चिम यातायात प्रालिले देशैभरीका मुख्य–मुख्य सहरमा सेवा दिईरहेको बताउँदै सोही क्रममा अत्तरिया–काठमाण्डौं सेवा सुरु गरेको बताए । उनले यसअघि अत्तरियाबाट डिलक्स र नर्मल बसहरु अत्तरिया–काठमाण्डौंका लागि छुट्ने गरेकोमा आजदेखि अत्तरिया–काठमाण्डौं बस सेवा सुरु भएको बताए । उनले सेवा बिस्तारले आन्तरीक तथा बाह्य प्रयटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
नेकपा गोदावरी नगरकमिटिका अध्यक्ष गोकर्ण भट्टले अत्तरिया बसपार्क निर्माणका लागि तत्कालिन सुदूरपश्चिम यातायात समितिको महत्वपुर्ण भुमिका रहेको बताए । उनले भ्रमण बर्षमा यातायात क्षेत्रको महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले बसपार्कमा हुने राम्रा नराम्रा क्रियाकलाप संग सुदूरपश्चिमको ईज्जत जोडिएकाले यसको सहि व्यवस्थापनमा सबै लाग्नु पर्ने बताए ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख लोकेन्द्र श्रेष्टले यातायात क्षेत्रमा थपिने स्तरीय सेवा संगै सेवाको गुणस्तरमा पनि बढाउन आवश्यक रहेको बताए ।
उद्योग बाणिज्य संघ अत्तरियाका महासचिव यज्ञ राज जोशीले अत्तरिया क्षेत्रबाट स्तरिय बस सेवा सुरु गरेकोमा यस क्षेत्रका स्थानियले स्तरीय सेवा पाउने बताए । उनले अत्तरिया बसपार्क प्रदेशकै नमुना बसपार्क बन्नुपर्ने बताए ।
कार्यक्रममा सुदूरपश्चिम यातायात मजदुर भलाई कोषका अध्यक्ष केशब राज पन्तले नयाँ–नयाँ सेवा थप हुँदा यात्रुहरुले सहज यात्रा गर्न पाउने बताए । उनले बसपार्कमा यात्रुलाई दुख दिने केहि युवाहरु संस्थाहरुले नै परिचालन गरेकाले यसको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा अत्तरिया–काठमाण्डौंको यात्राका लागि स्तरीय एसी बसमा पहिलो टिकट काट्ने गोबिन्द बहादुर ठगुन्नलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन प्रालिका महासचिव सुरेन्द्र बोहराले गरेका थिए ।