टिकापुर – कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ । नगरपालिकाले सो सम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट संयोजक रहेको समिति गठन गरिएको हो ।
समितिले कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको उपसंयोजकमा सामाजिक विकास समितिका संयोजक दीर्घ ठकुल्ला, सबै वडाध्यक्ष, अगुवा महिला तथा सञ्चारकर्मी, टीकापुरका प्रहरी प्रमुखलगायत सदस्य छन् । नगरप्रमुख तपेन्द्र रावलले अब छाउपडी प्रथा सामाजिक रूपमा कुप्रथा मात्र नभएर कानूनीरुपमा दण्डनीय अपराध समेत भएकाले नगरपालिकाले यसलाई कार्ययोजना बनाई नियन्त्रण गर्नुको कुनै विकल्प नरहेको बताए ।
नगर उपप्रमुख विष्टले नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरणका लागि चाल्ने कदममा साथ दिन नगरवासीलाई अनुरोध गरे । वडा नं १ का अध्यक्ष गङ्गाराम आचार्यले परिवर्तनको सुरुआत आफँैबाट गर्नुपर्ने बताए । वडा नं २ का अध्यक्ष प्रकाश बुढाले वडाले नै आफ्ना जनतालाई सम्झाइ बुझाई छाउपडी गोठ भत्काउन लगाउने बताए ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले छाउपडी प्रथाजस्ता कुप्रथा हटाउन सबै दलहरुले सहयोग गर्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपा टीकापुरका अध्यक्ष खड्क शाहले नगरपालिकाले छाउपडी प्रथाविरुद्ध गर्ने अभियानमा आफ्नो पार्टीले सहयोग गर्ने बताए ।
काँग्रेसका नगर सभापति धनराज उपाध्यायले महिनावारी भएका बेला घरमै बस्न मिल्छ भनेर जनतालाई चेतना जगाउन सक्नुपर्ने बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले कानूनले समेत दण्डनीय भनेर मानिसकेको छाउपडी प्रथाको नियन्त्रणमा नगरपालिकाले सबैको साथ चाहेको बताए ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख हेमराज भट्टले कानूनले दण्डनीय अपराध मानिसकेको छाउपडी प्रथा हटाउन प्रहरीले सबै कानूनी प्रक्रिया अपनाउने बताए । महिला अभियन्ता चन्द्रावती शर्माले आफूहरुले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नगरपालिकाका विभिन्न वडामा छाउपडी गोठ भेट्टाएको बताए । नगरपालिकाका वडा नं २, ७, ८ र ९ मा अहिले पनि छाउगोठ देख्न सकिन्छ । यहाँ अहिले पनि महिला महिनावारीको समयमा चार दिन गोठमै बस्ने गर्दछन् । रासस