मनोज मलासी काम विशेषले मोटरसाईकलमा घरबाट बजार आउँदै थिए । बजार आउँदै गर्दा अत्तरिया बजारमै बिच सडकमा रहेको गाई संग ठोकिए । दुर्घटनामा उनी घाईते भए । एक हात भाचियो । सुरुमा उनलाई मोटरसाईकलमा ठोकिएको गाई देखि रिस उठ्यो । पछि उनको उपचार भएपछि तिनलाई त्यहि गाईको सम्झना आयो । मैले त उपचार पाए । मैले नै मोटरसाईकलले ठोकेको गाईले चाहि उपचार पायो कि पाएन । उनले सोचे, त्यो दुर्घटनाको दोषी त न गाई थियो न म नै थिए । त्यो त हाम्रो समाज थियो जसले सडकमा छाडा गाईगोरु छाड्ने गरेका छन । कैलालीको गोदावरी ३ मालाखेतीमा बस्ने मालासीको मनमा त्यसपछि एउटा सोच आयो अब यी छाडा गाईगोरुकै रेखदेख गर्ने र यिनीहरुबाटै नै फाईदा लिने । तर सयैको संख्यामा रहेका छाडा गाईगोरुलाई लालन पालन गर्न भनेजती सहज थिएन् ।
एक दिन मलासी अत्तरियाबाट गाडीमा धनगढी जाँदै थिए । उनले सडक किनारामा कठ्याङ्ग्रीदो जाडोमा उभिएका छाडा गाईगोरुको भिड देखि उनले अपरिचितको भिडमै भने कस्तो हाम्रो पापी समाज यसरी जनावरलाई दुःख दिईरहेका छन । त्यहि भिडबाट एकजनाको आवाज आयो । सबैले यस्तै भन्छन तर व्यवस्थापन कसैले गर्दैनन् । भिडबाट आएको आवाज थियो अत्तरियाकै टिकाराम सार्कीको । सार्कीको प्रतिउत्तरमा मलासीले भने ‘त्यसो भए हामी गरैनत यिनिहरुको व्यवस्थापन । किन अरुलाई दोष दिने । तपाई साथ दिनुस म सम्पुर्ण खर्च बेहोर्छु ।’
दुवैजनाको सोच मिल्यो । कुनै ठुलो योजना, प्रपोजल केही नबनाई दुवै जनाले गोदावरी नगरपालिकाका जनप्रतिनिधिलाई भेटेर हामीले यस क्षेत्रका छाडा गाईगारुको व्यवस्थापन गर्छै, तत्कालका लागि जग्गा मात्र दिन माग गरे । नगरपालिकाले दुबै जनालाई नगरपालिकाको कार्यालय अगाडी चारैतिर तारबार गरेको जग्गा दिने सहमती जनायो । नगरपालिकाले जग्गा दिएपछि सुरुमा दुवैजनाले अत्तरिया क्षेत्रमा रहेका २ सय जति छाडा गाईगोरु राखेर गाउँबाटै पराल किनेर खुवाउन थाले ।
पुस १० गते २ सय छाडा गाईबाट सुरु गरेको छाडा गाईगोरु व्यवस्थापन अभियानमा अहिले ५ सय छाडा गाईगोरु रहेका छन । गोदावरी नगरपालिका १ मा रहेको गौ चौपाय संरक्षण केन्द्रमा अहिले दुवै जना दिन रात नभनी छाडा गाईगोरुलाई आफ्नो खर्चमा पालिरहेका छन । उनीहरुको काम देखेर अहिले धेरैले आफू पनि यो अभियानमा होमिने प्रतिबद्धता जनाउने गरेका छन । उनीहरुले अहिले छाडा गाईगारुको संरक्षणका लागि ११ जनाको गौ चौपाया संरक्षण समिति समेत बनाएका छन । समिति बनाएपनि अहिले छाडा गाईगोरुको व्यवस्थापनमा लाग्ने सम्पुर्ण खर्च समितिका सचिव रहेका टिकाराम सार्कीले नै व्यहोरीरहेका छन । सचिव सार्कीले भने – ‘अहिले छाडा गाईगारुलाई चिसोबाट बचाउन टहरा बनाईरहेका छौ । गाईगोरुको खानाका लागि बिभिन्न ठाउँबाट पराल ल्याएर खुवाईरहेका छौ ।’
उनले अहिले दैनीक ४ ट्याक्टर ट्रली पराल किनेर गाईगारुलाई खुवाईरहेको बताए । छाडा गाईगारु बस्नका लागि तत्कालको लागि टहरा निर्माणको काम चलिरहेको सार्कीले बताए । ‘हाम्रो अहिलेको उद्देश्य भनेको चिसो र बजारको फोहोर खाएर मरिरहेका गाईगोरुलाई बचाउँनु हो ।’ सचिव सार्कीले भने – ‘अहिले दैनिक बिभिन्न ठाउँबाट छाडा गाईगोरु थपिदै गएकाले बजार क्षेत्रमा रहेको यसै ठाउँमा सबै गाईगोरु राख्न सम्भव छैन । त्यसैले स्थायी रुपमा राख्नका लागि जग्गा खोजिको काम पनि संगसंगै अगाडी बढेको छ ।’ उनले बजारमा छाडा रुपमा रहेका गाईगारु मद्ये केहि बिरामी र चोटपटक पनि लागेका भएकाले नगरपालिका संग समन्वय गरेर उपचार भईरहेको बताए । नगपालिकाले काम गर्दै जानुस आवश्यक परेको सहयोग गर्न हामी तयार छौ भनेको बताउँदै सचिव सार्कीले अहिले सम्म आर्थिक सहयोग भने नगरपालिकाबाट नलिएको बताए । उनले अहिले सम्म डेढ लाख भन्दा बढी रकम संरचना वनाउन खर्च भईसकेको र दैनीक रुपमा ४ जना काम गर्नेको ज्याला र घास पानिको खर्च पनि आफैले गरिरहेको बताए ।
अरुले अयोग्य भनेर छोडेका गाईगोरुलाई योग्य बनाउँने अठोट
गौ चौपाया संरक्षण समितिका अध्यक्ष मलासीले छाडा गाईगोरुबाट बिभिन्न फाईदा लिन सकिने बताए । ‘धेरैले आशंका पनि गरेका होलान् सरकारबाट पैसा खानका लागि नै यस्तो काम गरिरहेका छन भनेर तर हामी छाडा गाईगारुको व्यवस्थापन संगै यिनीहरुबाट व्यवसायीक फाईदा पनि लिने उद्देश्यका साथ काम गरिरहेकाले हामी सफल हुन्छौ ।’ अध्यक्ष मलासीले भने – ‘पहिलो प्राथमिकता यिनीहरुलाई बचाउने हो । हामीले तत्कालै यिनीहरुबाट कुनै लिन सक्ने अवस्था छैन । सुरुवाती चरणमा व्यवस्थापन गर्न सरकारको सहयोग आवश्यक नै हुन्छ ।’
‘हामीले १ महिना अगाडी नै छाडा गाई व्यवस्थापनका लागि सोच बनाएका थियौ हामीले बिभिन्न ठाउँमा छाडा गाईगोरु व्यवस्थापमा भएका प्रयासको अवलोकन पनि ग¥यौ ।’ मलासीले भने – ‘हाम्रो उदेश्य यसैलाई कृषि व्यवसायको रुपमा अगाडी बढाउने हो । यसैबाट सय डेढ सय जनालाई रोजगार दिने सोच बनाएका छौ । यिनीहरुबाट फाईदा छ भन्ने कुरा सबैलाई थाहा छ । अहिले पनि धेरै मान्छे आउन्छन । यसबाट धेरै फाईदा छ भनेर जान्छन तर काम भने कसैले गर्ने आट गर्दैनन् ।’ उनले अहिले समितिमा भएका सबै सदस्य सक्रिय रुपमा खटिरहेको बताए । नगरपालिकाले पनि पहिले काम गरेर देखाउनुस अनि हामीले पनि सहयोग गर्छै भनेको छ, हामी नगरपालिकाले पनि सहयोग गर्छ भन्ने आशमा रहेको मलासीले बताए ।
यस्तै रहे यिनीहरु लोप हुन्छन यीनको संरक्षका लागि भए पनि सबैले लाग्न आवस्यक छ
समितिका सचिव सार्कीले मानव भएको भए यिनीहरुले खोसेर खान्थेहोला, झगडा गर्थे होला तर यिनीहरु अहिले बजारमा केही खान नपाएर पलास्टीक खाईरहेको बताए । ‘यस्तै चलिरहने हो भने अबको १०/१२ बर्षमा यी आफै नै लोप हुने अवस्थामा छन । त्यसैले यीनको संरक्षण आवश्यक छ ।’ सचिव सार्कीले भने – ‘छाडा गाईगोरु छोड्नु लाजमर्दो बिषय हो । भित्री मनदेखि चाहना हुने हो भने कुनै पनि काम गर्न सकिने भएकाले हामी यस काममा सफल हुन्छौ भन्ने विस्वास छ । धेरैले यिनीहरुको व्यवस्थापन गर्ने सोच बनाए धेरै असफल पनि भएका छन । एक्लो मान्छेले मात्रै यो काम गर्न सक्ने पनि होईन । त्यसैले सबैलाई आ आफ्नो ठाउँबाट हुन सक्ने सहयोग गर्न म आग्रह गर्दछु ।’ उनले आफूले यो काम गर्ने सोच बनाईसकेकाले अब जुनसुकै अवरोध आएपनि यस जिम्मेबारी बाट पछाडी भने नफर्कर्ने बताए ।
‘हाम्रो तत्कालको उद्देश्य यिनीहरुलाई बचाउने नै हो । भविश्यमा यी गाईगारुलाई नियन्त्रणमा गरेर व्यवसायीक हिसावले यिनीहरुबाटै आयआर्जन गर्न सक्ने सम्भावना देखेका छौ ।’ उनले भने – ‘नगरपालिकाकाले साँझ खोरीमा हाल्ने बिहान छोड्ने गरेका थिए । त्यसरी यिनीहरुको व्यवस्थापन हुँदैन । हाम्रो योजना भनेको यिनीहरुको व्यवस्थित आवास निर्माण गरी यिनीहरुका लागि पुग्ने गरी घास खेती गर्ने हो । त्यसो गरिदा दिगो हुन्छ ।’
के गरेको यस्तो काम पनि भन्छन
सचीव सार्कीले अहिले धेरैले के काम गरेको यस्तो पनि भनेर सोध्ने गरेका छन । ‘पैसा जसरी पनि कमाईन्छ भन्छन । भैसी पाल भन्छन । तर म यि छाडा गाईगोरुको पिडा देख्न नसकेर यसमा लागेको हुँ ।’ उनले आखाँ रसाउँदै भने ‘म यो काममा सफल भए आफ्नो नयाँ जिवन पाए सरह मान्ने थिए । मैले सुरुवात गरिसके अव पछाडी हट्ने कुरा हुँदैन । मैले अरुको पनि साथ पाउँने आशा गरेको छु ।’
उनले काम सुरु गरेर आफ्नो धेरै व्यक्तिगत लागानी पनि लगाईसेकाले अब पछि नहट्ने बताए । काम सुरुवात मात्रै गरेको छु अझै पुर्ण व्यवस्थापन गर्न सकिएको छैन । अब सबैको साथ सहयोग गरेमा हामीले यिनीहरुलाई अली खुला ठाउँमा व्यवस्थीत रुपमा व्यवस्थापन गर्ने योजना छ । सचिव सार्कीले भने –‘मैले यो कामलाई सामाजको सेवा संगै व्यवसायको रुपमा लिएको छु ।’
हामी छाडा गाईगोरु व्यवस्थापनको नमुना दिन चाहन्छौ
अध्यक्ष मलासीले सुदूपश्चिम छाडा गाईगोरुले आक्रान्त बनेका बेला हामीले यस क्षेत्रमा रहेका छाडा गाईगोरु व्यवस्थापन व्यवस्थापन गरेर नमुना अरुलाई पनि दिने योजना बनाएको बताए । ‘हामीले नगरपालिकालाई दबाव दिन पनि यो काम गर्न आवश्यक रहेको छ ।’ मलासीले भने – ‘सुरुमा वडामा भएका छाडा गाईगोरु व्यवस्थापन गर्ने सोच बनाएको भएपनि अब भने पुरै नगरभित्रका छाडा गाईगारुलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने लागेको छ । हामीले यसै ठाउँलाई छनोट गर्नुको कारण यो नगरपालिकाको अगाडी छ । नगरपालिकाले पनि हामीले गरेको काम देखोस भन्ने हो ।’
उनले अहिले पहिलो चरणमा नै भएकाले बिभिन्न निकायसंगको छलफलमै रहेको बताए । हामीले यस संगै कृषिका अन्य काम पनि गर्ने सोच बनाएका छौ । हामीले गरेका काम देखेर अरु नगरपालिकामा पनि यस्ता काम गरे यस क्षेत्रको छाडा गाईगोरुको समस्या सामाधान हुने उनको बुझाई छ ।
उनले अहिले बजारबाट ल्याएका गाई हाम्रो हो भनेर धेरै मान्छे आईरहेका भएपनि हामीले अहिले कसैलाई पनि नदिने गरेको बताए । ‘गाई नेपालको राष्ट्रिय जनावर पनि हो । हिन्दु धर्ममा मर्दा पनि चाहिने, त्यसैले अहिले हामीले कसैलाई नदिने जव मानिसहरुलाई यसको आवश्यकता र महत्व थाहा हुन्छ त्यसपछि मात्रै बेच्ने सोच बनाएका छौ । अहिले बजारमा छाडा रुपमा सहज रुपमै पाईने भएकाले पनि मानीसहरुले यसको महत्व बुझेका छौनन् ।’ मलासीले भने – ‘अहिले धेरैले समर्थन गरेका छन । विशेष गरेर खेती किसानी गर्ने किसानले धेरै राम्रो काम गरेको भनेर धन्यावाद दिईरहेका छन ।’
धेरैले छाडा गाईगारुको व्यवस्थापन गर्ने भन्दै नगरपालिका लगायतका ठाउँबाट रकम लिने काम नगर्ने गरेको बताउँदै मलासीले भने – ‘हामी त्यस्तो गर्दैनौ । हामी सरकारले कुनै सहयोग नगरे पनि आफै जग्गा भाडामा लिएर पनि काम गर्छौ । यसमा लागाएको लगानी यसैबाट उठ्छ । यिनीहरुलाई अलि व्यवस्थीत रुपमा पाल्नु पर्छ ।’
– छाडा गाईगारु संरक्षणमा लागेका मनोज मलासी र टिकाराम सार्की संग गोदावरी न्युजका लागि गरिएको कुराकानीमा आधारीत