अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा स्थानिय महिलाहरुले ३ घण्टा तालाबन्दी गरेका छन । महिला विकासको लागि छुट्याएको रकम एकलौटी ढंगले छुट्याएको भन्दै वडा सदस्य कृष्णा जोशीको नेतृत्वमा महिलाहरुले वडा कार्यालयमा ताला लगाएका थिए ।
महिला विकासका लागि छुट्याईएको ६ लाख रकम वडा अध्यक्षले बढी जनसंख्या भएको ठाउँमा कम छुट्याएर कम जनसंख्या भएको ठाउँमा बढी रकम छुट्याएकोले बिरोध गरेको वडा सदस्य जोशीले बताईन । महिलाका लागि छुट्याएको ६ लाख मद्ये वडाको पहाडी क्षेत्रमा ४ लाख हाले, तल तराईको बास्कोटा, वसन्तपुर र खैरानामा २ लाख मात्रै छुट्याएको छ ।’
वडा सदस्य जोशीले भनीन् – ‘पहाडी क्षेत्रमा १५ सय मतदाता छन, तल्लो क्षेत्रमा २५ सय मतदाता छन । बढी महिला भएको क्षेत्रमा २ लाख मात्रै हालेको हुनाले चित्त नबुझेर महिलाहरु आक्रोसित भएका हौ ।’
उनले यस बिषयमा भएको निर्णयका दिन आफू बैठकमा अनुपस्थित भएको बताईन् । वडा सदस्य जोशीका अनुसार यसअघि भएको रकम बाडफाटको निर्णय खारेज गरेर पुन छलफल गरी रकम बाड्ने वडाअध्यक्षले सहमती जनाएपछि ताला खोलिएको हो ।
वडा अध्यक्ष प्रेम राज भण्डारीले आफू पुन बजेट बांडफाडको बिषयमा छलफल गर्न तयार रहेको बताए । वडाको पहाडी क्षेत्रमा हाटखोली, बन्नेगडा, फुलवस्ती,गोदावरी र बुढीतोला रहेका छन भने तराईका क्षेत्रमा बास्कोटा, वसन्तपुर र खैराना रहेका छन ।