महेन्द्रनगर-भीमदत्त नगरपालिकाले चुरे क्षेत्रमा पर्ने झिलमिला तालको पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन संघ र प्रदेश सरकारसित समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएका छन् । स्थानीय तह निर्वाचनपछि भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले ताललाई सुदूरपश्चिम प्रदेशको नमूना पर्यटकीय स्थल बनाउन पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रम प्राथमिकता दिएका छन् । पर्यटकलाई सहज रुपमा झिलमिला तालसम्म पुगाउन सडक निर्माण भई रहेको छ । यस वर्ष मटेनाबाट चार किलोमिटर सडक पक्की निर्माण कार्य अघि बढेको छ । त्यसपछि अर्को वर्ष ताराकोटसम्म पक्की सडक निर्माण गर्ने योजना अघि सारिएको छ ।
ताराकोटबाट तालसम्मको झण्डै एक किलोमिटर बाटोमा पदमार्ग निर्माण भई रहेका छन् । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्र्तगत पदमार्ग निर्माण गरिएका हुन् । सुदूरपश्चिम प्रदेश उद्योग, वन, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले तालको परिक्रमा पथ र सोलार बत्ती जडान सहितका कार्यका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए ।
‘यो ताल प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण छ, तालमा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउँछन्, स्थानीय र छिमेकी जिल्लाबाट समेत आउँछन््’ भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले भने,‘यो प्रकृतिको अनुपम उपहार जस्तै छ, त्यसैले यसलाई संरक्षण, संवद्र्धन गर्न भीनपा लागि परेको छ, यसलाई सुदूरपश्चिम प्रदेशको नमूना पर्यटकीय स्थल बनाउन पहलकदमी गरिरहेका छौ ।’
नगरपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रमलाई प्राथमिकता दिएको नगर प्रमुख विष्टले बताए । ‘यो तालको संरक्षण र संबर्द्धन गरी पर्यटन प्रवर्द्धनका लागि नीतिगत रुपमा कार्यक्रम र बजेट विनियोजन गरी अघि बढेका छौ’ उनले भने । भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ । यो घोषणा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित झिलमिला ताल, भम्केनी धाम, विष्णु मन्दिर साकेतधाम, रौटेला, बाराकुण्डा, झोलुङ्गे पुल लगायतका धार्मिक पर्यटकीय स्थललाई मध्यनजर गरी गरिएको हो । तालको संरक्षणका लागि यस वर्ष राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसित सहकार्य गरी तालको पश्चिमी किनारमा चेकडयाम (तटबन्ध) बनाउन लागिएको छ ।
यसका लागि १५ लाख बजेट खर्च हुने भएको छ । एक हजार एक सय २५ मिटर लम्बाईको परिक्रमा पथमध्ये यस वर्ष दुई सय मिटर थप निर्माण गरिएको छ । घना जङ्गलको विचमा रहेको यो १७ मिटर गहिराको यो तालको लम्बाई ५ सय मिटर र चौडाई ३ सय ५० मिटर छ । २०७२ मा तालको लम्बाई, चौडाई र गहिराई मापन गरिएको थियो । दिनमा तीन पटक रङ्ग फेर्ने यो तालमा दैबीय शक्तिका कारण पानी र माछाका आकार स्थिर रहेको स्थानीय बताउँछन् । घना जङ्गलको बिचमा भएर पनि तालमा रुखका पाल देख्न पाइदैन ।