बैतडी – बिहीबार रातीदेखि हिमपात हुँदा अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । बिहिबार राति भएको हिमपातका कारण उक्त राजमर्ग अवरुद्ध बनेको थियो ।
बैतडीको अनराखोली, खोडपे क्षेत्रमा पर्ने दशरथचन्द राजमार्ग ३ वटा डोजर लगाएर बाटो खुलाईएको अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए ।
जिल्ला प्रशासन डडेल्धुरा, जिल्ला प्रशासन बैतडी, अमरगढी नगरपालिका, अन्य स्थानीय निकाय र सुरक्षाकर्मीहरुको पहलमा उक्त राजमार्ग खुलाइएको उनले बताए ।
दशरथचन्द राजमार्ग खुलाइएको भएपनि भीमदत्त राजमार्गमा खुलाउन अझै समय लाग्ने बताइएको छ । उक्त क्षेत्रमा पनि ५ वटा डोजर हिउँ सफा गर्नका लागि प्रयोग गरिएको नगरप्रमुख ओझाले बताए ।
बिहीबार रातीदेखि डडेल्धुरा लगायत सुदूरपश्चिमका पडाडी जिल्ला बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका लेकाली क्षेत्रमा हिमपात भएको थियो । डडेल्धुराको अनारखोली, साहुखर्क, हगुल्टे लगायतका स्थानमा भएको हिमपातले बिहीबार राती करिब १० बजेदेखि सवारी साधनहरु अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
राती १० बजेदेखिको हिमपातका कारण सवारी साधन चल्न नसकेपछि यात्रुहरु रातभरी बसभित्रै बसेका थिए । हिमपातले डडेल्धुरामा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा समेत अवरुद्ध हुनुका साथै जिल्ला सदरमुकामका विद्यालयहरुमा संचालन भईरहेको अर्धवार्षिक परिक्षा समेत प्रभावित भएको छ ।