अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नं. २ अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष तेजराज अबस्थीको सभापतित्वमा बिहिवार सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले हामी सबैको मुख्य पेशा कृषि भएपनि त्यसलाई व्यवसायीकरण गर्न नसक्दा अझै पनि कृषिमा परनिर्भर हुनुपर्ने बाध्यता रहेको बताए । उनले कृषि प्रधान देशमा बस्ने हामीले कृषिको परनिर्भरतालाई हटाइ कृषिलाई अब बैज्ञानिक एवम् आधुनिक अवस्थामा लैजान जरुरी रहेको बताए ।
उनले जनताको विकाश भए समाजको विकाश हुने र समाजको विकाश भए नगरको विकाश हुने भएकाले सबैले ब्यवासायीक रुपमा अगाडी बढ्न जरुरी रहेको बताए । सहकारी किसानहरुको खेती जस्तो रहेको हुदा आफ्नो खेतीको हेरचाहा पनि आफैले गर्नुपर्ने भन्दै उनले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुन आग्रह गरे ।
२०५३ सालमा २ सय ९१ जना शेयर सदस्यको १२ हजार ५ सय रुपैया शेयरपुँजी बाट सुरु भएको सहकारीमा हाल ५ हजार ६ सय ३५ जना शेयर सदस्यहरु रहेका छन् भने १ करोड ७२ लाख १७ हजार शेयरपुँजी रहेको छ । संस्थाले आर्थिक बर्ष २०७५ , ७६ मा २६ करोड ५६ लाख ४ हजार १ सय ६६ रुपैया ८४ पैसाको कारोबार गरेकोमा १ करोड १ लाख २६ हजार खुद नाफा कमाएको छ ।
संस्थाले गोदावरी नगरपालीका वडा नं। १,२,३,४,१०,११, १२ र चुरे गाउपालिकाको वडा नं २,३,४ मा आफ्नो सेवा दिदै आईरहेको छ । संस्थाले गत बर्ष ३५ जनालाई बाख्रा पालन तालिम , ७५ जनालाई अन्तर समुह क्षमता अभिबृद्धि तालिम र १२५ जनालाई संचालक समिति क्षमता अभिबृद्धि तालिम संचालन गरेको संस्थाका मुख्य प्रबन्धक गोरख खत्रीले जानकारी दिए ।
उनले सामुदायिक तथा सामाजिक कार्यक्रमहरु अन्र्तगत सहकारीले बिभिन्न ठाउँमा आर्थिक सहयोग पनि गर्दै आएको बताए । उनले साना किसानहरुको विकास , साना किसानहरुवाट , सानाकिसानहरुका लागि नै गर्न सकिन्छ भन्ने बिश्वासका साथ यस क्षेत्रमा छरिएर रहेका स सानो पुजीँलाई बिभिन्न बचतका माध्यामद्धारा संकलन गर्दै त्यसको अधिकतम परिचालन गरि साना किसानहरुलाई आवश्यक पर्ने स साना घरेलु समस्या देखी कृषि उत्पादन , कृषि ब्यबसाय र साना घरेलु उधोगहरु संचालनका लागि लगानी गर्दै आएको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष तेजराज अबस्थीले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने मुख्य प्रबन्धक गोरख खत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाको आन्तरिक लेखा परिक्षण प्रतिबेदन लेखा समितिकी संयोजक कृष्णा जोशीले र बाह्रय लेखा परिक्षण प्रतिबेदन संस्थाकी सहायक बबिता गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाकी उपाध्यक्ष भगवती देवी खनालको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका मुख्य प्रबन्धक गोरख खत्रीले गरेका थिए ।