अत्तरिया - कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय 'खुल्ला गोदावरी मेयर कप भलिबल प्रतियोगिता २०७६ 'हुने भएको छ । गोदावरी नगरपालिका वडा नं १ मा रहेको न्यु सृजनशिल युवा क्लबको आयोजनामा माघ १० गते देखी १४ गते सम्म प्रतियोगिता हुन लागेको हो । आयोजक न्यु सृजनशिल युवा क्लबले आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो ।
गोदावरी नगरपालिका प्रबद्धक रहेको उक्त प्रतियोगितमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका टिमहरुले सहभागिता जनाउन पाउने भएका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै तराईका जिल्लाहरुमा लोप हुने अबस्थामा पुगेको भलिबल खेललाई उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक बिक्रम बिष्टले जानकारी दिए ।
प्रतियोगितामा कैलालीका १३ ओटै स्थानिय तह संगै सुदूरपश्चिम प्रदेश भित्रका बिभिन्न नगरपालिका , गाउपालिका र क्लबहरुले सहभागिता जनाउन पाउनले उनले बताए । यस्तै नेपाल आर्मी , नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि ३ वटा बिभागिय टोलीको पनि प्रतियोगितामा सहभागित जनाउने संयोजक बिष्टले बताए । १७ लाख २० हजार जम्मा अनुमानित खर्च लाग्ने उक्त प्रतियोगिताको प्रथम हुने टिमले २ लाख १ हजार १ सय ११ सहित ट्रफि र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने उनले बताए ।
यस्तै दोस्रो हुनेले १ लाख १ हजार १ सय ११ , तेस्रो हुनेले २० हजार १ सय ११ र चौथो हुने टिमहरुले १० हजार १ सय ११ रुपैया सहित ट्रफि र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको बेस्ट प्लेयरले नगद १० हजार , बेस्ट स्टाइकरले ५ हजार , बेस्ट लिप्टरले ५ हजार , बेस्ट ब्लकरले ५ हजार र राइजिङ प्लेयरले ५ हजार पुरस्कार प्राप्त गर्ने संयोजक बिष्टले बताए ।
उनले प्रतियोगितामा न्युनतम २५ वटा टिमहरु सहभागि हुने र ५ देखी ८ हजार खेलप्रेमी दर्शकहरुले खेलको अबलोकन गर्ने अनुमान गरिएको बताए । प्रतियोगिता न्यु सृजनशिल युवा क्लबको आफ्नै खेल मैदानमा हुने भएको छ ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथी रहनुभएका गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष एब्म गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले गोदावरी नगरपालिकाले नगरको विकासमा खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताए । उनले केहि महिना पहिला गोदावरी नगरपालिकामा अन्तराष्ट्रिय स्तरको कराते प्रतियोगिता सम्पन्न गरिएको हुदा यस्ता ओझेलमा परेका खेलहरुको उजागर गर्न नगरपालिका सधैव साथ सहयोग गर्न तयार रहेको बताए ।
उनले खेलले पर्यटन बर्षलाई पनि जोड दिएको हुदा नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताए ।
उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको न्यु सृजनशिल युवा क्लबले तराईका जिल्लाहरुमा ओझेलमा परिरहेको अबस्थामा भलिबल प्रतियोगिताको आयोजना गरेकोमा यसलाई सम्पन्न गर्न सम्पुर्ण नगरबासीको साथ सहयोग आवश्यक रहेको बताए ।
न्यु सृजनशिल युवा क्लबका कोषध्यक्ष दिपक कडेलको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा १ नं का वडा अध्यक्ष शर्मानन्द भट्ट प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमको संचालन छबिन्द्र नाथ योगीले गरेका थिए ।