काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानले उखु बेच्ने बित्तिकै पैसा पाउने वातावरण बनाउने बताएका छन् । बिहीबार राष्ट्रिय सभामा जवाफ दिँदै उनले उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने बताएका हन् ।
उखु किसान र चिनी मिलको समग्र समस्या पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै मन्त्री भट्टले कार्यदलको सुझावको आधारमा सरकार अघि बढ्ने बताए ।
‘मिलको गेटमा उखुको हुने वित्तिकै तुरुन्तै बैंक मार्फत भुक्तानी होस् भनेर कार्यदल गठन गरेका छौं । त्यसले किसानको समस्या पत्ता लगाउँछ, व्यवसायीको समस्या के हो, नेपाल सरकारले गर्नुपर्ने के हो पत्ता लगाउँछ । किसानको ऋण समस्या बाध्यताबारे अध्ययन गरेर मन्त्रालयमा ल्याउँछ । त्यसपछि सरकारले आवश्यक कदम उठाउँछ’ उनले भने ।
उद्योगीका माग अनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने बताए । नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको भन्दै त्यसमा पनि सुधार गर्नुपर्ने उनले बताए ।
मन्त्री भट्टले चिनी तस्करी अहिले रोकिएको बताए । ‘सीमा क्षेत्रका जनताले प्रयोग गर्न २र४ किलो चिनी ल्याए होलान् तर व्यवसायी गर्न भने भारतबाट चिनी आएको छैन् ।’
त्यस्तै मन्त्री भट्टले लुम्बिनी चिनी मिल सरकारले नै सञ्चालन गर्ने की के गर्नेभन्ने विषयमा अध्ययन गरिरहेको बताए । उनले भने ‘वीरगञ्ज चिनी कारखाना पनि कुन मोडलमा सञ्चालन गर्ने भनेर गृहकार्य गरेका छौं ।
व्यवसायीको समस्या वीउमा छ । हाइब्रिड उखुको वीउ नभएकाले समस्या भयो ।’लामो समयसम्मको भुत्तानी नपाएको किसानले कतैबाट सहयोग नपाएपछि राजधानी केन्द्रित आन्दोलन गर्न सुरु गरेका छन् ।