धनगढी - भारतबाट गोलपोष्टको फलाम किनेर धनगढी ल्याएका ती दिन ७२ बर्षीय श्याम सुन्दर शर्माको मन मस्तिष्कमा अझै ताजै छ । तत्कालीन एसपी दिलीप सिंह आलेले सडक विभागको रोलरलाई मैदान सम्याउनका लागि भनिदिएपछि हालको धनगढी रंगशालाको दक्षिणी कुनामा फुटबल मैदान बनाईएको थियो ।
तर फुटबल खेलिरहनु भएका श्याम सुन्दर शर्मा लगायतका उहाँका सहपाटीहरुलाई २०३० सालतिर फुटबल मैदानमा आवश्यक पर्ने गोलपोष्ट धनगढीमा पाउनै मुस्किल थियो,। त्यही भएर भारतको पलिया गएर गोलपोष्ट ल्याएर धनगढीमा फुटबल खेल्नु भएको थियो शर्मा र उहाँका साथीहरुले । पलियासम्म त्यो समय जाँदा दुई वटा नदी पार गर्नुपथ्र्यो ।
श्याम सुन्दर लगायतका केही साथीहरुले नदीमा काँधमा बोक्दै, फेरि बसमा हाल्दै फेरी नदीमा बोक्दै धनगढीसम्म पुराईएको थियो फलामको गोलपोष्ट । त्यसपछि फुटबल खेलका धेरै नियमहरु थाहा नभएपनि धनगढीमा खेल्न थालिएको थियो फुटबल । फुटबल सुरुवात दिनका सवैभन्दा पाका र लेजेन्ड हुनुहुन्छ धनगढी चौराह निवासी श्याम सुन्दर शर्मा । शर्मा लगायतको जमात फुटबल खेल्न थालेपछि चौधरी बुक डिपोका मालिक सत्येन्द्रनाथ चौधरीले रेफ्रीको भुमिका निर्वाह गरि दिनुहुन्थ्यो ।
खेल्दै गएपछि २०३२ सालतिर धनगढीका खेलाडीहरुले जनकपुुरमा नर ट्रफी खेल्न गए । नर ट्रफी राजा विरेन्द्रका साला तत्कालीन आईजिपी नर समशेर राणाले आफ्नै नाममा सुरु गरेको राष्ट्रिय फुटबल प्रतियोगिता हो । २०३२ सालतिर जनकपुरमा नर ट्रफी खेल्न जाँदा यहाँको टीमले एक खेल पनि जितेन भने ५÷६ गोल खेलेका सवै खेलमा खाएको टीमका सदस्य शर्मा सम्झिनुहुन्छ । एक गोल गर्न नसकेपछि घर फर्किएको धनगढीको टोलीले त्यसपछि आएपछि राम्रैसँग समीक्षा गर्यो । २०३३ सालमा लहानमा भएको नर ट्रफीमा देशभरीका टीमबाट शर्माको टोली उपविजेता बन्यो ।
त्यसपछि फुटबल प्रगतिको बाटोमा अग्रसर भएको शर्मा बताउनुहुन्छ । डिफेड र मिडमा खेल्ने शर्माको कप्तानीको रहेको धनगढीको टीमले २०३४ सालमा सेती अञ्चलाधीश फुटबल रनिङ सिल्डमा कब्जा जमायो । जसमा तीन तोला सुन जडान गरिएको थियो । फुटबलमा लागेकै बेला धनगढीमा क्रिकेटको पनि सुरुवात भईसकेको थियो ।
तत्कालीन कैलाली कागेंसका सभापति स्वर्गीय मोहनवहादुर शाहले क्रिकेटमा लाग्न उत्प्रेरण दिन थालेपछि फुटबल खेलिरहेका खेलाडीहरु क्रिकेटतिर पनि लागे । त्यसमा श्याम सुन्दर पनि पछि पर्नुभएन् । शर्माका दाई सुनसरी होटेलका साउजीले फुटबल जित्ने टीमलाई निशुल्क नास्ता खुवाउनुहुन्थ्यो भने भने मोहनवहादुर शाहले क्रिकेटमा जित्ने टीमलाई निशुल्क नास्ता खुवाउनुहुन्थ्यो । क्रिकेट र फुटबल सँगसँगै धनगढीमा सुरुवात भएका ती दिनहरुमा आवश्यक खेल सामाग्रीको भने निकै अभाव झेल्नु परेको शर्माको भोगाई छ ।
फुटबलसँगै क्रिकेट खेलेका शर्माले २०३८ सालमा काठमाण्डौमा भएको पहिलो राष्ट्रिय खेलकुदमा क्रिकेट टोलीको सदस्यको रुपमा सहभागीता जनाउनुभयो । त्यो बर्ष टोलीले जित हात पारेन् । त्यसपछि वालगोपाल गिरीको कप्तानीमा शर्मा उपकप्तान भएको टोलीले २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि टीमले सहभागीता जनायो भने तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ सालमा वीरगंजमा हुँदा शर्मा क्रिकेट टोलीको कप्तान हुनुहुन्थ्यो ।
४१ बर्षको उमेरसम्म फुटबल र क्रिकेट खेल्ने शर्मा नै सवैभन्दा वढी उमेरसम्म खेल्ने खेलाडीमा पर्नुहुन्छ । त्यो अवधिमा क्रिकेटमा पनि धेरै उपलव्धी हासिल गरिएको थियो । शर्मासँग ९ पटक भारतको टीमसँग खेल्दा ७ पटक जितेको अनुभव रहेको छ । लामो समयसम्म दुवै खेलमा सक्रियताका साथ लाग्नुभएका शर्माको योगदानलाई कसैले बिर्सन सक्दैन होला ।
२०४२ सालसम्म खेलाडीको रुपमा सक्रिय श्याम सुन्दर शर्माले त्यसपछि भुमिका फेर्नुभयो तर खेलकुदलाई भने छोड्नु भएन् । लामो समयसम्म क्रिकेटको अम्पायर र फुटबलको रेफ्रीको मात्रै हो ह्यान्डवलको समेत रेफ्रीको भुमिका निर्वाह गर्नुभयो ।
जेष्ठ नागरिक बनिसक्दा पनि उहाँलाई खेलकुदको नशाले छोड्न सकेको छैन् । विगतमा आफुहरुले खेल्दा धेरै दुःख पाए पनि अहिलेको अवस्था देखेर उहाँ खुशी हुनुहुन्छ । धनगढी चौराहको पारस मेडिकल रहेको घर त्यसपछि पछाडीतिर रहेको भवनको एक कोठामा श्याम सुन्दर शर्माको कोठा छ । त्यही कोठामा जीवनको उत्तार्धलाई कटाईरहनु भएको छ शर्मा ।
दुई छोरा दुई वुहारी सहित दुई नाती र ६ नातिनी सहितको उहाँको परिवाकार अन्य सदस्यहरु भने अहिले खेलकुदमा कोही लागेका छन् । दाईभाईका छोराछोरी खेलकुदमा लागेपनि शर्माका पुस्ता भने खेलकुदतिर छैनन् । अहिले पनि शार्माले क्रिकेट र फुटबलका खेलहरु टिभीमै हेरेर खेलकुदको नशा मेटिरहनु भएको छ ।
फुटबल र क्रिकेटको विकासका लागि अहम भुमिका खेल्नु भएका श्याम सुन्दर शर्माको योगदानलाई तत्कालीन समयको पाको पुस्तालाई राम्रैसँग थाहा छ तर नयाँ पुस्तालाई उहाँको वारेमा जानकारी समेत छैन् । खेलकुदका यी जिउँदा ईतिहासलाई सम्मान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलाली खेलकुदका लेजेन्ड श्यामसुन्दर शर्मालाई प्रदान गर्दछ प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७६ को लाईफ टाईम एचिभमेन्ट अवार्ड ।