काठमाण्डौ - पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाउन थालेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
प्रत्येक वर्ष पुस १५ गतेका दिन मनाईने ‘तमु ल्होसार’ पर्व सूर्यको किरण सँग सम्बन्धित छ । बिषेश गरेर गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन्छ ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसा , गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर , मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो।
यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमु ल्होसार मूल आयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए । यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदायले असन्तुष्टि जनाएका छन् ।