अत्तरिया – सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारको रुपमा रहेको अत्तरिया चोकमा रहेको बिलबोर्डलाई नेपाल भ्रमण बर्ष २०२० ले छुन सकेको छैन । जताजतै नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसारका लागि बिभिन्न व्यानर पम्पलेट लगाएर सजाईरहेको भएपनि अत्तरिया चोकमा भने नगरपालिका स्तरबाट कुनै पनि व्यानर, होर्डिङ बोर्ड राखिएको छैन ।
अत्तरिया चोकको आकर्षक र सबै ठाउँबाट देखिने अत्तरिया चोक भित्र ठुलो बिलबोर्ड राखिएको भएपनि त्यसमा भ्रमण बर्षको कुनै पनि सन्देश राखिएको छैन । अत्तरिया चोकमा पुग्ने बितिकै सबैको आखाँ पर्ने बिलबोर्ड बिभिन्न ब्राण्डका चाउचाउका बिज्ञापनले भरिएको छ ।
पूर्वपश्चिम राजमार्गले जोडेको अत्तरिया चोक भएर धनगढी र महेन्द्रनगर मात्र होइन सुदूरपश्चिम प्रदेशका पहाडका ७ जिल्ला जोडीन्छ । सुदुरपश्चिमको मुटु मानीने अत्तरिया चोकमा भ्रमण बर्ष सुरु हुन २ दिन बाकी रहदा अत्तरिया चोकका बिभिन्न ठाउँमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले होर्डिङ बोर्ड राखेको भएपनि नगरस्तरबाट भने भ्रमण बर्ष लक्षित कुनै पनि कार्यक्रम हुन सकेको छैन ।
गोदावरी नगरपालिकाका प्रवक्ता सर्मानन्द भट्टले बिलवोर्डमा नेपाल भ्रमण बर्षको सन्देश दिने सामाग्री राख्ने बिषयमा ठेकेदार कम्पनीसंग छलफल भईरहेको बताए । उनले भ्रमण बर्षको लागि जिल्ला समन्वय समिति मार्फत सयुक्त रुपमा कार्यक्रम गर्ने भन्ने बिषयमा छलफल भएकाले समन्वय समिति मार्फत नै कार्यक्रम हुने बताए ।
नगरपालिकाले एक निजि ठेकेदार कम्पनीलाई चोकमा बिलबोर्ड जडानको ठेक्का दिएको छ । नगरपालिकाले बिलबोर्ड राख्दा ठेकेदार कम्पनीले ७० प्रतिशत आफ्नो ब्यबसायिक विज्ञापन र ३० प्रतिशत नगरपालिकाका धार्मिक पर्यटन झल्काउने पोष्टरहरु राखेको छ । बिलबोर्ड राख्नका लागि गोदावरी नगरपालिका र क्यालडोन ग्राफिक्स कम्पनीबीच १५ वर्षे सम्झौता भएको छ । बिलबोर्डमा कम्पनीले तापक्रम, समय तथा विज्ञापन डिस्प्ले सहितको बिलबोर्ड जडान गरेको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले नगरपालिकाले भ्रमण बर्षका लागि अहिले नै कुनै छुटै कार्यक्रम गर्ने योजना नबनाएको बताए । उनले अहिले जिल्ला समन्वय समिति संग छलफल भईरहेकाले गोदावरी नगरपालिकाले आगामी दिनमा यसका लागि कार्यक्रम ल्याउने बताए ।