काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया बुर्जुवाको हातमा रहेको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित नेकपा निकट पत्रकारको संस्था प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले जनताका पक्षधर मिडियाको भूमिका आवश्यक भएको समेत बताए ।
‘मिडिया बुर्जुवाको हातमा छ’, प्रचण्डले भने, यसप्रति सजग हुनुपर्छ ।’ प्रचण्डले बुर्जुवाको हातमा रहेको मिडियाबाट सचेत हुँदै राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न गर्न सञ्चारकर्मीलाई आग्रह पनि गरे ।
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको आरोप लगाउँदै प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए । ‘अहिलेको अन्तराष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ’, उनले भने, ‘त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ । त्यसका लागि जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।’
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धता अनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
‘पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ’, उनले भने, ‘त्यो हामीले दिएका छौं । पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विचारमा एकतारुपता भए मात्र एकीकृत पार्टीको उद्देश्य प्राप्त हुने उल्लेख गरे ।
‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ’, उनले भने, ‘नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएका छन् ।’ उनले परिवर्तनको रक्षा गर्न सबै एक हुनुपर्नेमा जोड दिए ।