काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वलाई विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य गरेका छन् । पार्टी भ्रातृसंस्था प्रेस संगठनका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले पार्टीको सफलतामा बोल्न नसक्ने नेताहरु विरोधमा मात्रै बोलेको आरोप लगाए ।
‘पार्टीको नेता भएर पार्टीकै सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्दैन,’ ओलीले रावल माथि व्यङ्य गर्दै भने, ‘कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन । पार्टीको सरकारले राम्रो काम गर्दा बोल्न नसक्ने?’
रावलले केही दिनअघि सम्पन्न नेकपा स्थायी समितिमा नेकपा र राजपाबीच भएको राष्ट्रियसभामा तालमेल सम्बन्धी सहमतिको व्यङ्य गर्दै ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा कविता वाचन गरेका थिए । बैठकमा सहभागी नभएका ओलीले कविताको जवाफ शनिबारको कार्यक्रममा दिएका हुन् ।
प्रदेश २ मा २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको, अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको बताए । ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे,’ ओलीले भने, ‘कसैलाई कोही मान्छे मन पर्दैन होला । आनीबानी व्यवहारका कमजोरी देखे भन्नुस् । सही नीतिले देश सञ्चालन गरेका छौं । फेरि विरोध किन ?’
कार्यक्रममा ओलीले सरकारले गरेका राम्रा कामको फेरिहस्त सुनाए । ‘निरंकुशता ढालिएको छ, संविधान बन्न नदिँदा बनाइएको छ । नाकाबन्दी खोलिएको छ । भूपरिवेष्टितबाट हटाइएको छ । अनि विरोध किन,’ ओलीले भने ।
७० वर्षको अनुभवले मुलुक चलाएको भन्दै ओलीले कुनै पनि हालतमा डुब्न नदिने बताए । विरोधीले कुनै राजनीतिक इस्यु नपाएपछि खुद्रा विषयमा विरोध गरेको बताए । गुठी विधेयकमा सरोकारवाला भन्दा पनि गैर सरोकारवालाको उछलकुद धेरै भएको भनाइ ओलीको छ ।
ओलीले पहिचानको राजनीतिका नाममा जातजातबीच लडाउने काम भएको बताए । ‘हामीलाई नेपाली भनेरै बिर्साउने खेल भयो। तराई, पहाडमा विभाजित गर्ने खेल भयो,’ ओलीले भने, ‘धर्म, जात, भाषाका नाममा लडाइयो। चीनलाई सयौं वर्षसम्म अफिममा फसाए। रूवान्डामा शताब्दीसम्म हुतु र तुत्सीको नाममा लडाए । हाम्रो देशमा पनि मुस्लिम र हिन्दुको नाममा लडाउन खोजियो। त्यसलाई हामीले असफल बनायौं ।’
प्रधानमन्त्री ओलीले अहिले राजनीतिलाई विस्थापित गराउने र अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताए ।