अत्तरिया – प्रहरी हिरासतमा छोराको मृत्यु पछि पशुपती देवी पाली अहिले न्यायका लागि भौतारीरहेकी छिन । डोटीको जोरायल गाउँपालिका ४ घर भएर हाल कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीमा बस्ने पाली डोटीको गैरा प्रहरी चौकीमा प्रहरी हिरासतमै छोराको मृत्यु भएको १ महिना बितिसक्दा पनि सहमती अनुसार क्षतिपुर्ति र कानुन अनुसारको पाउनु पर्ने न्यायका लागि बिभिन्न ठाउँमा भौतारीन बाध्य छिन ।
छोराकै भरमा परिवार चलिरहेको भएपनि छोराको मृत्यु पछि अहिले पाली परिवार बिचल्लीमा परेको छ । मृतक गणेश पालीकी आमाले छोराको मृत्यु पछि शव उठाउने प्रशासन संग भएको सहमती अनुसार आफूहरुले अहिले सम्म न्याय नपाएको बताईन । उनले कारवाहीका लागि जिल्ला प्रसाशन कार्यालयमा किटानी सहित जाहेर दिएको भएपनि अहिले सम्म मृद्धा अदालतमा पेश समेत हुन नसकेको बताईन ।
‘२५ लाख क्षतिपुर्ति दिने, चौकि भित्रै घटना भएकाले न्याय दिलाउने सहमती भएको थियो ।’ पालीले भनीन् – ‘अहिले सबै कानमा तेल हालेर बसेका छन । उतीबेला नेताहरले आश्वासन दिएको तर अहिले कोहि नबोल्दा नेताहरुबाट पनि पिडित भएको महशुस भएको छ । उतीबेला आशा मात्रै देखाए ।’
उनले न्याय दिलाउछौ भनेर सबैले उचालेको तर अहिले कसैले पनि नहेरेको दुखेसो पोखिन । उनले अहिले आफूले क्षतिपुर्ति पनि नपाएको र न्यान पनि नपाएको गुनासो गरेकी छिन ।
से १ ज २९२ नम्बरको महेन्द्रा जीप चलाउँदै आएका पालीको मंसिर ८ गते गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा गाडी संचालनका बिषयमा विवाद हुँदा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका पालीको केहि समयमै मृत्यु भएको थियो ।
सवारी चालकको मृत्यु प्रहरीका कारण भएको भन्दै मृतकका आफन्तले डोटीको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दिपक शामन्त विरुद्ध मुद्दा दर्ता गराएका थिए । मृतकका बुवा तिलक सिंह पालीले दुवै प्रहरी जवानको नाममा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि उनिहरु विरुद्ध मुद्दा दायर गर्दै जिप्रका डोटीले दुवै जनालाई निलम्बन गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दिलीपसिंह देउवाले मृद्धा अदालतमा जाने प्रक्रियामा रहेको बताए । उनले आईतबार सम्म मुद्धा अदालतमा जाने बताए ।