धनगढी – बिहिबार बिहान नेपाल सहितका देशमा खण्डग्रास सूर्यग्रहण लागेको छ । यता नेपालको पश्चिम भागमा रहेको महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा सुरू भएको सुर्यग्रहण ११ बजेर १९ मिनेटमा अन्त्य हुँदैछ । त्यस्तै पूर्वमा भद्रपुर झापाबाट ८ बजेर ४८ मिनेटमा सुरू भएको सुर्यग्रहण ११ बजेर २७ मिनेटमा अन्त्य हुनेछ । काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरू भएको सुर्यग्रहण ११ बजेर ३३ मिनेटमा अन्त्य हुनेछ ।
यो ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीका लगायत स्थानबाट देखिएको छ । पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखिनेछ । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ ।
रिङ अफ फायर साउदी अरबबाट सुरू भएको सुर्यग्रहण कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ ।
सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहने छ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भएको छ भने पूर्व र दक्षिण को बीचमा मोक्ष हुने छ ।
सूर्यग्रहणस् के गरे के हुन्छ ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ ।
सूर्यग्रहण कुन राशिलाई कस्तो असर
यसपालिको ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।
मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।