धनगढी – बिहिबार बिहान नेपाल सहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । सुर्यग्रहण बिभिन्न ठाउँमा बिभिन्न समयमा देखिने भएको छ । यता नेपालको पश्चिम भागमा रहेको महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा सुरू भएर ११ बजेर १९ मिनेटमा अन्त्य हुनेछ । त्यस्तै पूर्वमा भद्रपुर झापाबाट ८ बजेर ४८ मिनेटमा सुरू हुन्छ भने ११ बजेर २७ मिनेटमा अन्त्य हुनेछ । काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरू हुनेछ भने ११ बजेर ३३ मिनेटमा अन्त्य हुनेछ ।
यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीका लगायत स्थानबाट देखिनेछ । पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखिनेछ । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ ।
रिङ अफ फायर साउदी अरबबाट सुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ ।
सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहने छ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुने छ ।