काठमाडौं – रोजगारीको खोजीमा मंसिर महिनामा ५६ हजार ८ सय १० जना नेपाली विदेशीएका छन् । नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ५६ हजार श्रमिक विदेशीएका हुन् ।
वैदेशिक रोजगार विभागको मंसिर महिनाको तथ्यांक हेर्दा साउदीमा युवाहरु जाने क्रम बढेको छ । साउदीमा सबैभन्दा बढी १४ हजार ३ सय ५७ जना गएका छन् । साउदीपछि युवाहरुको रोजाइमा संयुक्त अरब इमिरेट्स (युएई) परेको छ । युएईमा १३ हजार २ सय ४४ युवाहरु गएका छन् ।
युवाहरुको रोजाइको तेस्रो मुलुकमा कतार परेको छ । कतारमा १२ हजार ९ सयभन्दा बढी युवाहरु पुगेका छन् ।
झण्डै १६ महिना बन्द रहेको मलेसिया खुलेपनि मलेसिया जाने श्रमिकको संख्या कम देखिएको छ । मलेसिया रोजगारीका लागि ८ हजार ७ सय ७३ जना श्रमिकहरु गएको विभागको तथ्यांकले देखाउँछ ।
मलेसियाबाट डिमाण्ड ल्याउन कठिन भइरहेकाले ठूलो संख्यामा युवाहरु मलेसिया पठाउन नसकेको एक म्यानपावर व्यवसायीले बताए । वैदेशिक रोजगार विभागले भने मलेसियाको मागपत्र प्रमाणीकरण लगायत विभिन्न काम भइरहेकाले यो संख्या अबका महिनामा बढ्दै जाने जनाएको छ ।
बहराइन, ओमान, कुवेत, इजिप्ट, रसिया, टर्की, दक्षिण कोरिया लगायत मुलुकमा समेत रोजगारीको खोजीमा युवाहरु जाने गरेका छन् । सीप तथा योग्यता नभएका ठूलो संख्यामा नेपाली युवाहरु मलेसियालगायत खाडी मलुकमा जाने गरेका छन् ।
मंसिर महिनामा १३ हजारभन्दा बढी अदक्ष श्रमिक विदेशीएका छन् । साधारण सीप भएका १९ हजार श्रमिक विदेशीएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरु अदक्ष हुँदा उनीहरुले सस्तो पारिश्रमिकमा कठिन काम गर्न बाध्य हुने गर्छन् । सरकारले श्रमिकलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारीमा पठाउने तयारी गरिरहेको जनाएको छ ।
सम्बन्धीत कामका लागि तालिम दिएर मात्रै वैदेशिक रोजगारीमा पठाउने नीति सरकारले ल्याएको छ तर त्यसलाई कार्यान्वयनमा भने ल्याउन सकिएको छैन । यस वर्ष वैदेशिक रोजगार बोर्डले १५ हजार युवाहरुलाई निःशुल्क तालिम प्रदान गरी वैदेशिक रोजगारीमा पठाउने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।