कञ्चनपुर – जिल्लाको कृष्णपुर नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । कृषि व्यवसाय मार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा २७ लाख वजेट विनियोजन गरेको छ ।
विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बाली र केराखेतीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीले बताए ।
सो कार्यक्रम अन्तर्गत नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७, ८ लाई तरकारी खेती, वडा नं ४, ५ लाई केरा खेती र वडा नं ९ लाई च्याउखेतीका लागि छनोट गरिएको छ । “तरकारी खेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा ५० प्रतिशत अनुदानमा सिधै खातामा रकम उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ ।” अधिकृत धामीले भने “अनुदान रकमसँगै तरकारी बाली, च्याउ र केरा खेतीका लागि तीन दिने तालीम दिने कार्य, माटो परीक्षण, आइपिएम पाठशाला सञ्चालनसँगै बजार प्रवद्र्धन, सङ्कलन केन्द्र स्थापना, हाटबजार समेत सञ्चालन गरिने छ ।”
“कृषिबाट स्थानीयवासीको जीवनस्तर उकास्न यो कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने, “युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न समेत कार्यक्रम उपयोगी हुने छ ।” कृषि प्रसार अधिकृत धामीले कार्यक्रमको मुख्य उद्देश्य कृषिलाई व्यावसायिक बनाउनु नै हो भन्दै कार्यक्रम अन्तर्गत किसानलाई बजारीकरणमा पनि सहयोग गरिने योजना रहेको बताए ।
उनले सुरुमा किसानलाई मल, बीउ र अन्य कृषिजन्य सामग्री अनुदानमा उपलव्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिए । “जुन ठाउँमा जे बालीको राम्रो उत्पादन हुन्छ, त्यही आधारमा कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने, “तरकारी, केरा र च्याउखेतीमा किसानलाई प्याकेजमै सहयोग उपलब्ध गराएको छ ।”
स्थानीयवासीलाई गाउँमै रोजगारी दिन यो कार्यक्रम लागू गरिएको नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले बताए । उनले भने, “किसानले उत्पादन गरेका कृषि उत्पादनलाई भण्डारण गर्नका लागि शीत भण्डार निर्माणका लागि कार्य अगाडि बढाइएको छ ।
शीतभण्डारका लागि डिपिआर निर्माणको कार्य पूरा गरिएको छ ।” “कृषि उत्पादन मार्फत उनीहरूलाई रोजगारीमा जोड्न खोजेका हौं”, उनले भने, “यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएपछि काम खोज्दै भारतका विभिन्न ठाउँमा जाने युवाहरूको बाध्यताको अन्त्य हुने हाम्रो अपेक्षा छ ।’
केरा उत्पादनमा लागेका किसानलाई सहयोग पु¥याउन केरा पकाउने ¥यापिङ च्याम्बरसमेत स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताए । नगरपालिकाले प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने किसानलाई रु तीन लाख अनुदान उपलब्ध गराएको छ । किसानलाई व्यावसायिक बनाई विपन्नबाट आर्थिकरुपमा सम्पन्न बनाउनका लागि कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने उनको भनाइ छ । प्राङ्गारिक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने छ । रासस