अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा बार्षिक लक्ष्यको आधा भन्दा बढि राजस्व संकलन गरेको छ । गत बर्ष पनि बार्षिक लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको नगरपालिकाले यस बर्षको पहिलो चार महिनामा पनि आधा भन्दा बढि राजश्व संकलन गरेको हो ।
नगरपालिकाले चालू आर्थिक वर्षमा बिभिन्न शिर्षकमा १२ करोड ९५ लाख २६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा साउन महिना देखी कात्तिक मसान्त सम्मको पहिलो चौमासिकमा झण्डै ८ करोड राजस्व संकलन गरेको छ । नगरपालिकाका आन्तरिक राजस्व शाखा प्रमुख राजेश प्रसाद जोशीले चालू आर्थिक वर्ष २०७६,०७७ को पहिलो चार महिनामा ७ करोड ९६ लाख ८९ हजार ५ सय १२ रुपैया राजस्व संकलन भएको जानकारी दिए ।
उनका अनुसार कर राजश्ववाट ४ करोड २ लाख ७१ हजार १ सय ७१ रुपैया र गैर कर राजश्ववाट ३ करोड ९४ लाख १८ हजार ३ सय ४१ रुपैया संकलन भएको हो । जसमा एकिकृत सम्पत्ति करवाट २५ लाख २५ हजार ७ सय ४८ रुपैयाँ, मालपोत करबाट २७ लाख ४३ हजार ७ सय १४ रुपैयाँ, घर बहाल करबाट ४ लाख ३१ हजार ६ सय २ रुपैयाँ संकलन भएको छ ।
यस्तै बहाल बिटौरी करबाट ७९ हजार ९ सय ७५ रुपैयाँ , बाडफाड भई मूल्य अभिबृद्धि करबाट ३ करोड २३ लाख ९० हजार ७ सय ३६ रुपैयाँ , बाडँफाडँबाट प्राप्त हुने सबारी साधन करबाट ३ लाख ३२ हजार ४ सय ९७ रुपैयाँ , ब्यावसाय रजिष्ट्रेसन दस्तुरबाट ८ लाख ५ हजार ९० रुपैयाँ र बिज्ञापन करबाट ८ लाख ५५ हजार ५ रुपैयाँ संकलन राजस्व गरेको छ ।
शाखा प्रमुख जोशीले नगरपालिकाले गत बर्षको असार मसान्तमा पनि बार्षिक लक्ष्यको भन्दा बढि राजश्व संकलन गरेको बताए । यस बर्ष पनि लक्ष्य भन्दा बढि नै राजश्व संकलन हुने देखिएको उनको भनाई छ ।
