पोखरा – साविक विजेता पोखरा दोस्रो नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । प्रतियोगितामा विजयी सुरुवात गरेको पोखरा लगातार चार हार ब्यहोरेपछि लिग चरणबाटै बाहिरिएको हो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पोखराले एक्सपर्ट धनगढीसँग ५ विकेटको हार ब्यर्होयो । जित्नैपर्ने दबाबमा उत्रिएको पोखराको टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय सहि सावित हुन सकेन । पोखराले केवल ७९ रन मात्र जोड्न सक्यो । टस पोखरालाई एक्सपर्ट धनगढीले १६.३ ओभरमा अलआउट गरेको हो ।
धनगढीका युवा स्पीनर अनिल खरेलले तीन विकेट लिए । सागर ढकाल, दीपक पुनिया र कमलसिंह ऐरीले समान २ विकेट लिए । धनगढीले ६५ बल बाँकी छँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा ग¥यो। धनगढीका दीपेन्द्र पुनियाले सर्वाधिक २५ रन बनाए । रोड्रिगो थोमसले १५, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ र सुवेन्दु पाण्डेले ११ रन बनाए । पाँच खेलबाट चार अंक भएको धनगढीले अघिल्लो चरण पुग्ने सम्भावना कायमै राखेको छ ।
त्यसअघि पोखराका लागि आशिफ शेखले २९ बलमा ३२ रन जोडे । विकेटकिपर विनोद भण्डारीले १२ रनमात्र बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । कुशल भुर्तेल ६, कप्तान शरद भेषावकर ४, कुशल मल्ल २ रनमा आउट भए भने रवि इन्दर सिंहले खाता खोल्न सकेनन् ।
२० रन जोड्दा ३ विकेट गुमाएको पोखराले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेको थियो । अनिलले विनोद भण्डारीलाई आउट गर्दै उक्त साझेदारी तोडेका थिए । आसिफलाई पनि अनिलले नै आउट गरेका थिए। बुटवलका यी स्पीनरले चार ओभरमा १५ रन खर्चिए ।
दीपक पुनियाले चार ओभरमा १३ रन दिए भने सागर ढकालले पनि चार ओभरमा १५ रनमात्र खर्चिएका थिए । गत संस्करणमा उपाधि जितेको पोखरा यो सिजन कमजोर प्रदर्शन गरिरहेको छ । पोखरा ४ खेलबाट २ अंकसहित तालिकाको छैटौँ तथा अन्तिम स्थानमा छ ।
लिग चरणको शीर्ष चार स्थानमा रहने टोलीमात्र प्ले अफमा पुग्ने प्रावधान छ । शीर्ष दुई टोलीबीच फाइनल पुग्न प्रतिस्पर्धा हुन्छ । त्यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि पुन अवसर पाउँछ । तेस्रो र चौथो स्थानमा रहने टोलीबोच हुने खेलको विजेतासँग हुने खेलले फाइनल पुग्ने अर्को टोली टुंगो लगाउँछ ।
तालिकामा चितवन राइनोज चार खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्स र तेस्रो स्थानमा रहेको काठमाडौं गोल्डेन्सको चार खेलबाट समान चार अंक छ । पाँचौँ स्थानमा रहेको विराटनगर टाइटन्सको चार खेलबाट २ अंक छ । नेटरनरेटमा धनगढी भन्दा अगाडि रहेकाले विराटनगरले लिगको आफ्नो अन्तिम खेल जिते प्ले अफमा पुग्ने छ ।