अत्तरिया- कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि एक जनाले गरेर मात्र हुदैन । सफलताको पछाडी जनसहभागिता र सहकार्यको आवश्यकता आवश्य पनि पर्दछ । आपसमा मिलेर एकताबद्ध भई गरिने कामलाई सहकार्य भन्ने गरिन्छ । सहकार्य तब हुन्छ जब आफ्नो ब्यक्तिगत स्वार्थलाई छोडेर संस्थाको हितमा सबैले हातमा हात र काधँमा काधँ मिलाएर सहयोग गर्दछन् ।
कैलालीको अत्तरियामा रहेको जिवनज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिका पदाधिकारीहरुले अहिले यस्तै गरिरहेका छन् । २ सय २५ जना स्थानिय महिलाहरुको पहलमा २०५९ साल कात्तिक महिनामा गोदावरी नगरपालिका २ तेघरीमा कार्यालय स्थापना गरी संचालन गरिएको जिवनज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.ले आज करोडौको कारोबार गर्दै थुप्रैको जिवनस्तरमा परिर्वतन ल्याएको छ ।
देशको जनसख्याको आधा भाग ओगटेका महिला बर्गलाई संगठित गराई उनीहरुको चेतना अभिबृद्धि गरि आफ्नो विकास आफै गर्न सक्ने विश्वासको भावना जागृत गराई महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन स्थापना गरिएको उक्त सहकारीले आर्थिक बर्ष २०७५÷०७६ अन्त्य सम्ममा १० करोड ६० लाख ५८ हजार ३ सय १५ रुपैया ८२ पैसाको जम्मा कारोबार गरेको छ ।
जसमा संस्थाले १८ लाख ४७ हजार ४ सय ७ रुपैया ३५ पैसा खुद नाफा कमाउन सफल भएको छ । आईतवार सम्पन्न संस्थाको १६ औ साधारण सभामा लेखा समिति संयोजक सविना तमाङले संस्थाले आर्थिक बर्ष २०७५, ०७६ मा गरेको बित्तिय कारोबारको अन्तरिक लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्दै सो कुराको जानकारी गराइएको हो ।
२ सय २५ जना शेयर सदस्यहरुको २ लाख पुँजीबाट सुरु भएको सहकारीमा हाल ५ सय १० जना दलित , ३ सय ६६ जना जनजाति र ११ सय ८० जना अन्य गरि २ हजार ५६ जना शेयर सदस्यहरु रहेको छन् भने १ करोड १७ लाख ६७ हजार शेयर पुजी रहेको संस्थाका व्यवस्थापक क्षेत्रा साउँदले जानकारी दिइन् । गोदावरी २ मा रहेको आफ्नै भवनवाट सेवा प्रवाह गरिरहेको संस्थाको कार्य क्षेत्र गोदावरी नगरपालिकाका १२ ओटा वडाहरुमा रहेको उनले बताइन् ।
वडाहरुमा बचत संकलन गरी ऋण परिचालन गर्दै आइरहेको उक्त सहकारीले दैनिक बचतका लागि अत्तरिया बजार क्षेत्रलाई पनि ओगटेको कार्यक्रममा जानकारी गराइएको थियो । महिला मात्र सदस्य बन्न सक्ने प्राबधान रहेको उक्त सहकारीले शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउनका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको ब्यबस्थापक साउँदले बताइन् ।
उनले सदस्यहरुको आर्थिक , सामाजिक , शैक्षिक , सशक्तिकरण र दक्ष जनशक्ति विकास गर्दै सहकारीताको मूल्य र मान्यतामा आधारित दिगो रुपमा चलिरहने बलियो तथा भरपर्दो ब्यबसायीक पारदर्शी महिला सहकारी बनाउने संस्थाको परिकल्पना रहेको बताइन् । आर्थिक बर्ष २०७६ ०७७ को अनुमानित बजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्दै संस्थाकि कोषाध्यक्ष पार्वती बुढाथोकीले शेयर सदस्यहरुको संख्या १५ प्रतिशतले बृद्धि गरी २ हजार ४ सय ३० पुञ्याइने लक्ष्य राखिएको बताइन् ।
यस्तै उनले आर्थिक बर्ष २०७६ ०७७ मा शेयर पुजीँलाई पनि बढाएर २ करोड ३५ लाख ५४ हजार ६ सय पुञ्याउने संस्थाको लक्ष्य रहेको बताइन् । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सुमित्रा सोवले महिलाद्धारा महिलाका लागि संचालन गरिएको सहकारीले नाफा कमाउने भन्दा पनि ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको सानो सानो पुजिँ संकलन गरी उनीहरुको सामाजिक तथा आर्थिक विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताइन् ।
उनले सहकारीमा आबद्ध शेयर सदस्यहरुको सेवा सुबिधाका लागि समय समयमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताइन् । उनले आबश्यकता अनुसार नितिहरु परिमार्जन तथा उचित कार्यान्वयन गर्दै .सामाजिक सुरक्षा कोषको ब्यवस्था गरी शेयर सदस्य र सदस्यको श्रीमानको मृत्यु भएमा रु ५००० सम्म क्रिया खर्च दिने र २५०० सुत्केरी भत्ता दिदै आएको बताइन् । यस्तै सदस्यहरुलाई आत्मनिर्भर बनाउन नियमित रुपमा सिलाई कटाई तालिम , ब्यक्तित्व विकास तालिमहरु संञ्चालन गरिरहेको बताइन् । सिलाई कटाई तालिम सिकेका मध्ये २२० जना महिलाहरुले अहिले आफनो ब्यवसाय गर्न सक्ने गरी दक्ष भएको उनको भनाई छ ।
'हामीले बचत उठाउने , रिण लिने र दिन काम मात्रै होईन शेयर सदस्यहरुको सेवा सुबिधालाई बढि भन्दा बढि ध्यानमा राखेर कामहरु ग्र्दै आएका छौ' उनले भनिन् - 'शेयर सदस्यहरुले पनि संस्था प्रति धेरै सकरात्मक सोच देखाईरहेको छन् , हामीले शेयर सदस्यहरुलाई वडा वडामा गएर शेयर लाभांश पनि बितरण गर्ने गरेका छौ ।'
कार्यक्रममा प्रमुख अतिथी रहेका गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले एकतामा बल हुन्छ भन्ने कुरा यहि महिला सहकारीले देखाएको बताए । उनले साधारण सभा शेयरसदस्यहरु एक ठाँउमा जम्मा गर्नका लागि नभएर संस्थाले एक बर्षभरि गरेका गतिबिधिका बारेमा जानकारी दिन र आफ्ना कुराहरु राख्नका लागि आयोजना गरिने हुदा पुरा कार्यक्रम सम्पन्न गरेर मात्रै जान शेयर सदस्यहरुलाई आग्रह गरे ।
उनले आफ्नो लगानी कता तिर गैरहेको छ सहकारी कस्तो अबस्थामा छ भन्ने जस्ता कुराहरुमा सबै शेयर सदस्यहरु चनोखो बन्नुपर्ने बताए । उनले सहकारी पनि शेयर सदस्यहरुको खेती जस्तै भएकाले आफ्नो खेतीमा कति उब्जनी गर्ने भन्ने बारे सबैले सोच्नुपर्ने बताए । उनले सहकारीलाई अब रिण लिने र दिनेमा मात्रै सिमित नराखी कसरी सुदूरपश्चिम सहित देशकै नमुना र उन्नत बनाउन सकिन्छ भन्ने तर्फ संचालकहरुको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा उप प्रमुख रत्ना कडायतले महिलाहरुको जिवन स्तर उकास्न महिला सहकारीहरुले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेकाले नाफा आर्जन गर्ने भन्दा पनि शेयर सदस्यहरुलाई सहज र सरल तरिकाले सेवा सुबिधा दिनका लागि सहकारीले तत्परता देखाउनुपर्ने बताइन् । संस्थाकी अध्यक्ष सुमित्रा सोवको अध्यक्षतामा सम्पन्न १६ र्औँ साधारण सभामा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा विशिष्ट अतिथी उपप्रमुख रत्ना कडायत रहनुभएको थियो ।
संस्थाकी उपाध्यक्ष लिलावती सिंहको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन ब्यबस्थापक क्षेत्रा साउँदले गर्नुभएको थियो । कार्यक्रममा सबैभन्दा बढि बचत गर्ने , ब्यबसायी कृषक , आबधिक बचतकर्ता असल ऋणी र जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा गोदावरी नगरपालिकामा रहेका बिभिन्न सहकारी संस्थाका पदाधिकारी , बिभिन्न संघसस्थाका पदाधिकारी लगाएत शेयर सदस्यहरुको बाक्लो उपश्तिथी रहेको थियो ।