डोटी -दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । सदरमुकाममै रहे पनि यो वडा सामाजिक चेतनाको अभावमा पछि परेको छ ।
थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको कलेना गाविसअन्तर्गत रहेको यो वडा सामान्यतया मदिराले मस्त रहन्छ । पछिल्लो समयमा केही सुधार देखिए पनि पनि त्यो सन्तोषजनक भने छैन ।
घरमा भैंसी पाल्ने, दूध, दही, घीउ र बारीमा फलेको साग सिलगढी लगेर बेच्ने, अनि रक्सी किनेर पैसा उडाउने कलेनाका अधिकांश पुरुषको नियति नै बनेको छ । दूध, दही, घीउ, सागपात बेच्न बजार पुग्ने महिलाहरु हरु पनि फर्कँदा श्रीमानका लागि रक्सी किनेर लगिदिनुपर्ने बाध्यतामा छन् ।
गाउँमै पनि लुकिछिपि रक्सी पार्ने र बेच्नेको कमी छैन । केही मानिस त बिहानको चिया समयमै पनि रक्सी पिउने गर्छन् । व्यापक रुपमा मदिरा प्रयोग हुन थालेपछि जिल्ला प्रहरी कार्यालय (जिप्रका) डोटीले यस क्षेत्रमा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । उक्त क्षेत्रमा बिना अनुमतिपत्र मदिरा बेच्नेहरुलाई प्रहरीले पक्राउ गरी धमाधम कारवाही गर्न थालेको जिप्रका डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए ।
‘हामीले जिल्लाका सबै ठाउँमा मदिरा बिक्री वितरणमा कडाइ गरेका छौं तर, कलेनामा बिहानै रक्सी खाने बढेपछि अलि बढी कडाइ गर्न बाध्य भएका हौं,’ उनले भने । प्रहरीका अनुसार उक्त क्षेत्रमा मदिराकै कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । प्रहरीले यहाँका गाउँ–गाउँमा सामुदायिक प्रहरी सेवा गठन गरेर अत्यधिक मदिरा सेवन लगायतका विसङ्गतिमा कमी ल्याएको दाबी गरे पनि कलेनामा खासै सुधार आउन नसकेको स्थानीयवासीको आरोप छ ।
स्थानीय व्यापारीहरुका अनुसार यस क्षेत्रमा ४० प्रतिशत खाद्यान्न र ६० प्रतिशत मदिरा बिक्री वितरण हुने गरेको छ । घरमा भएका कुखुरा, खसीबोका र अन्नपात बेचेर यहाँका स्थानीयवासीले मदिरा पिउने गरेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ ।
मदिराका कारण डोटीमा हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक घटनाहरु पटकपटक दोहारिइरहे पनि मदिरा बिक्री वितरण पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।रासस