बाजुरा - जिल्लाको पूर्वोत्तरी भेगमा रहेका चार वटा स्थानिय तह र छिम्मेकी जिल्ला हुम्ला मुगुका स्थानिय बासिन्दा चिसो बढ्न थालेपछि बेसी झर्न थालेका छन् । हिउँद समयमा चिसो हुन थाले पछी हिमाली भेगमा बसोबास गर्ने भोटे जातीहरु चिसो छल्न बेसी झर्न थालेका हुन । हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ्क भोटेले हिमपात हिमाली भेगमा हिउँपात हुनुका साथै चिसो बढेपछी गाउँमा बस्न नसकीने अवस्था हुदाँ सबै गाउँका मानिसहरु बालवालीका तथा चौपाय समेत साथमा बोकेर बेसी तिर झर्ने गरेका बताए ।
उनले गत वर्षको भन्दा यस बर्ष चाँडै जाडो सुरु भएकाले पनि स्थानिय बासी चिसो छल्न बेसी झरेको बताए । प्रत्येक बर्ष उनीहरु हिउँदे खेती लगाएर मंसिरको अन्तिम तिर बेसी झर्ने गर्दछन् । यही क्रम यस बर्ष पनि सुरु भएको छ । पछिल्लो समय गाउँमा मान्छे नभएकाले केही गाउँ खाली भएका छन ।
यसरी बेसी झर्नेहरु साथमा वृद्धा,वृद्ध बालवालीका सव परिवारसंगै भेडा, च्यांग्रा र बस्तु भाउ समेत साथमा ल्याएर आउने गर्दछन् । बाजुरा जिल्लाको दक्षिणी भेगमा पर्ने बार्जुगाड सेरा, मालागाड, कालाआम,अछामको साँफे बगर लगाएतका विभिन्न ठाउँमा बसोबास गर्नाको लागी भोटेजनजातीहरु बेसी झर्नेहरुको लर्को देखिन्छ ।
बिच्छँया गाविसका गुम्बा गाउँका लोपा थापा भोटेको परिवार पनि विगत वर्षझैैं यसपाली पनि बेसी झरेको छ । उनी सहित ६ जनाको परिवारको आय आर्जन भनेकै भेडा, च्यांङ्ग्र र घोडा लिएर उत्तरी भेगमा रहेको आफ्नो घर छोडेर बेसी झरेका छन् । थापासँगैै गुम्भा गाउँ र अन्य गाउँका गरी करिब १५ बढी परिवार सँगै झरेका छन् ।
गुम्बाको हिमाली बस्तीसँगै यति बेला बाटैभरि भेडा, च्याङग्राको बथानसंगै मान्छेहरु लर्को लागेको देखिन्छ । बसाई सर्ने क्रममा उनीहरु गन्तव्य नपुगुन्जेल नदी खोला किनार र भेडा च्यांग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन् । गन्तव्यमा पुगेपछि घाँसपातले चारैतिरबाट बारेर बीचमा ठड्याएको प्लास्टिक पालभित्र यी परिवारको हिउँद बित्ने छ । 'गाउँमा चिसो बढ्ने र पेट पाल्न पनि समस्या हँुने भएकाले औलतिर झर्छौं’ पाण्डुसैन गाबिस डब्क गाउँका जीवन थापाले भने - 'यता गाउँतिर हिउँ पर्न थाल्छ, काम पनि हुँदैन र छाक टार्न पनि सजिलो हुने भएकाले औलतिर झर्ने गरेका हौं ।’ उनले पुर्खौंदेखि यही परम्परा चल्दै आएको बताए ।
यसरी हिउँदतिर झर्ने र गर्मी सुरुसँगै आफ्नै थातथलो र्फकादा रमाइलो नै हुने र कुनै ठूलो समस्या नपर्ने उनले बताए । अधिकांश परिवारहरु हिउँदे यामभरि घरको ढोकै बन्द गरेर औलतिर झर्ने भएकाले अहिले सम्म गाउँघर सुनसान हुने उनले बताए । चिसो छल्न झरेकाहरु चैत्र सम्म बेसीमै रमाउने हिमाली गाउँपालिका १ बिच्छ्याँका ज्याबल थापा बताउँछन् । दक्षिणी क्षेत्रका बाह्रबिस, ब्रम्हतोला, कुल्देवमाडौं लगायत छिमेकी अछामका विभिन्न ठाउँलाई बाजुराको हिमाली र लेकाली भेगमा बसोबास गर्नेहरु न्यानो बस्ती औल भन्ने गर्छन् ।
बस्ती छोडेर औलतिर सरेको यस अवधिमा उनीहरुका बालबालिकाको पढाइसमेत छुट्छ । स्थानिय लाप्का थापाले गाउँघर छोड्नुपर्ने भएकाले बिधालय जाने बालबालिकाले विद्यालय पनि छाड्नुपर्ने अबस्था रहेको बताए । हिमपात हुने भएकाले अन्नपात नफल्ने र चिसोले बस्नै नसकिने बुढीगंगा नगरपालीका अगाउँपानीका भोटे छिरीङ्क गुरुङ्गले बताए । उच्च हिमाली भेगमा बसोबास रहेका यी भोटे जनजातिको गाउँघरमा चिसोका कारण हिउँदे अन्न उत्पादन हुँदैन ।