कन्चनपुर -कञ्चनपुरमा चार वर्षको अवधिमा सयभन्दा बढी बलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार तीन वर्ष आठ महिनामा एक सय २५ घटना भएका हुन् । एक वर्षको अवधिमा एक किशोरी र एक बालिकाको बलात्कारपछि हत्या भएको छ ।
आर्थिक वर्ष ०७४/७५ को २६ असारमा घरबाट कापी–कलम किन्न हिँडेकी कृष्णपुर नगरपालिका– ८ रैकवार बिचुवाकी १७ वर्षीया किशोरी कविता विष्टलाई बलात्कारपछि हत्या गरेर बालुवामा फालिएको अवस्थामा शव पाइएको थियो ।
कविताको बलात्कारपछि हत्या भएको दुई सातामै यस आर्थिक वर्षको १० साउनमा भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको थियो । जसले आजसम्म पनि न्याय पाउन सकेकी छैनन् ।
चार वर्षको तुलनामा कञ्चनपुरमा बालिका, किशोरी र महिलामाथि हुने बलात्कार तथा हत्याका घटना बढ्दै गएका छन् । यसअघि अधिकांश महिलामाथि हुने बलात्कार एवं यौनजन्य हिंसाका घटना मात्रै हुने गरेका थिए । पछिल्लो वर्ष दिनयता बलात्कारसँगै हत्याका घटना बढ्न थालेका हुन् ।
प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा जबर्जस्ती करणी २१, उद्योग ६, आर्थिक ०७३/७४ मा जबर्जस्ती करणी १९, उद्योग १६, आर्थिक ०७४/७५ मा जबर्जस्ती करणी १९, उद्योग १५, बलात्कारपछि हत्या एक र चालू आर्थिक वर्ष ०७५/७६ को फागुन मसान्तसम्ममा जबर्जस्ती करणी १८, उद्योग ११ र बलात्कारपछि एक बालिकाको हत्या गरिएको छ । बलात्कारका घटना हुनुमा थुप्रै कारण रहेको कञ्चनपुरका अधिवक्ता त्रिपुरेश्वरी विष्ट बताउँछिन् । बलात्कारसम्बन्धी प्रहरीको तथ्यांकअनुसार कञ्चनपुरमा सामाजिक घटनाले विकराल रूप लिएको अधिवक्ता विष्ट बताउँछिन् ।
अधिवक्ता विष्टका अनुसार महिलामाथि हुने बलात्कारका घटना बढ्नुमा सचेतनाको अभाव, दण्डहीनता बढ्नु, सांस्कृतिक बन्धनबाट बाहिरिनु, कानुनको कार्यान्वयन नहुन, बलात्कारका घटनामा राजनीतीकरण हुनु आदि कारण रहेको बताउँछिन् । ‘बलात्कार घटना रोक्न समाज संयमित हुनुपर्छ,’ उनले भनिन्, ‘अधिकारभन्दा कर्तव्य पालना गर्नुपर्ने देखिन्छ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले विभिन्न कारणबाट महिलामाथि बलात्कारका घटना हुने गरेको बताए । उनले प्रहरीमा दर्ता भएका ९० प्रतिशत मुद्दा किनारा लगाउन सफल भएको बताइन् ।
सामाजिक विकृति, सामाजिक सञ्जाल, चलचित्र र सचेतना अभावका कारण बलात्कारका घटना घट्दै गएको उनको भनाइ छ । बलात्कारका घटना रोक्न स्वयं व्यक्ति, घरपरिवार, समाज सबै सचेत हुनुपर्ने उनको सुझाब छ ।
साभार - नयाँ पत्रिका