अत्तरिया -कैलाली र कञ्चनपुरमा लागू भएको क्षेत्रीय शहरी विकास आयोजना अन्योलमा परेका छन् । पाँच वर्षमा निर्माण सक्ने लक्ष्य रहेको आयोजनाको अढाई वर्षसम्म निर्माणको काम सुरु भएको छैन । निर्माण ठेक्का पाएको रमन कन्सट्रक्सनलाई सार्वजनिक खरिद अनुगमन कार्याकारणलयले कालोसूचीमा राखेपछि थप अन्योल भएको छ ।
शुरुमा फोहरमैला व्यस्थापनका लागि जग्गा नपाएका कारण ढिलाई भएको थियो भने पछिल्लो समय कालोसूचीमा परेको रमन कन्सट्रक्सनका कारण ढिलाइ भएको हो। असारमै प्राविधिक मुल्यांकन गरेर केन्द्रमा पठाइएका फाइलहरु अहिलेसम्म आर्थिक मुल्यांकनका लागि फिर्ता आएका छैनन्।
अढाइ वर्ष अघिदेखि कैलालीको धनगढी उप-महानगरपालिका र गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकामा झण्डै ११ अर्बको लगानीसहितको क्षेत्रीय शहरी विकास आयोजना लागू भएको थियो ।
आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा साढे १० किलोमिटर, गोदावरी नगरपालिकामा १५ किलोमिटर र शुक्लाफाँटा नगरपालिकामा ४ किलोमिटर अत्याधुनिक सडकको टेन्डर भइसकेको छ । आयोजनाको धनगढीमा रहेको कार्यालयले तीनवटै स्थानीय तहमा सडक निर्माणका लागि परेका टेन्डरको प्राविधिक मुल्यांकन गरी क्षेत्रीय शहरी विकास आयोजना, आयोजना समन्वय कार्यालय काठमाडौंमा गत असारमै पठाइसकेको छ ।
एशियाली विकास बैंकको ऋण लगानीमा नेपाल सरकारले सञ्चालन गरेको यो आयोजनामा भीमदत्त नगरपालिका बाहेकका तीनैवटै स्थानीय तह, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा रमन कन्सट्रक्सनले टेन्डर हालेको छ । तीनवटै नगरपालिकामा रमनले हालेको टेन्टरमा प्राविधिक मुल्यांकनमा पास पनि भएको स्रोतले बतायो ।
तर प्रधामन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमनलाई कालोसूचीमा राखेको भन्दै सार्वजनिक सूचना जारी गरेपछि, यी तीनवटै नगरपालिका भीत्र टेन्डर आह्वान भइसकेको, झण्डै २ अर्ब २० करोड (भ्याट बाहेक) का सडक निर्माणको काम अन्यौलमा परेको छ।