कञ्चनपुर - जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा बाह्य मुलुकका चराहरु पुग्न थालेका छन् । बाह्य मुलुकमा अत्याधिक चिसो बढेपछि बिभिन्न मुलुका चराहरु जाडो छल्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा पुग्न थालेका हुन् ।
साइबेरिया, जापान, उत्तरी चीन, किर्गिस्तान, मंगोलिया लगायत मुलुक क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चराहरु जाडो छल्नका लागि हिमाल पार गरेर निकुञ्ज क्षेत्रमा आउने गरेको विज्ञहरुले बताएका छन् । प्रत्येक वर्ष हिउँदयाममा हिमाल छिचोल्दै चराहरु निकुञ्जलगायत यहाँका खोला, नदी र सिमसार क्षेत्रमा पुग्ने गर्दछन् । अहिले ति आगन्तुक चराहरु आउने क्रम जारी छ । आहारको खोजी, मौसम अनुकूलता र पंजननका लागि चराहरु बसाइँ सर्ने गरेका छन्।
मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैले टाउके हाँससहितका जीवल फिस्टो, लालकण्ठे, झेकझेक झ्याप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके आदि प्रजातिका चराहरु निकुञ्ज र त्यसको बाह्य क्षेत्रमा देखा परेको नेपाल पंछी संरक्षण संघका प्रतिनिधि हिरुलाल डगौराले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष नेपालमा १५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन्।
जसमध्ये आधा हाँस प्रजातिका चराहरु रहने गरेका छन्। उनका अनुसार हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथै आपसपासका नदी, खोला, तलाउ र सिमसार क्षेत्रमा मात्रै ३० बढी प्रजातिका बसाइँ सारेर आउने चरा देखिएका छन्। निकुञ्जको रानी ताल, सलगौडी ताल, बाबा ताल, चौधर नदी, स्याली नदी, सनवोरा नदीलगायतको क्षेत्रमा बसाइँ सारेर आउने चराहरुको चहलपहल बढेको छ।
यस निकुञ्ज चरा अवलोकनका लागि गन्तव्य रहेको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडयाल बताउँछन्। हिउँद सुरु हुँदै आउने चराहरु गर्मी सुरु हुनु अगावै आफ्नो पुरानै बासस्थानमा फर्कने गरेका छन्।