धनगढी - कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रबाट बुधबार खैरो हिरोइनसहित दुईजना पक्राउ परे । तीन दिनअघि धनगढी उपमहानगरपालिका क्षेत्रबाट पनि खैरो हिरोइनसहित तीनजना पक्राउ परेका थिए । १२ मंसिरमा धनगढीको एक होटेलबाट ब्राउन सुगरसहित दुई युवती र एक युवक पक्राउ गरिएका थिए । मंसिरमै अर्को एक घटनामा एक भारतीय युवक र नेपाली युवक पनि खैरो हिरोइनसहित पक्राउ परे ।
यी घटनाले लागुऔषधको ओसारपसार र सेवनमा संलग्न हुने संख्या कैलालीमा बढ्दै गएको मात्र होइन ठूलो सामाजिक चुनौती बन्न थालेको देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेत बढ्दै गएको लागुऔषधको समस्या समाजका लागि मुख्य चुनौती बन्न थालेको बताउँछन् । यो समस्या प्रहरीको एक्लो प्रयासले मात्र यो निराकरण हुन नसक्ने भएकाले सम्बन्धित अभिभावक पनि आफ्ना छोराछोरीले दैनिक गर्ने आनीबानी र व्यवहारका बारेमा सचेत हुन निकै जरुरी भइसकेको उनके भनाइ छ ।
‘कानुनबमोजिम प्रहरीले गर्ने कारबाहीले मात्रै यो समस्याको समाधान पूर्णरूपमा हुन सक्दैन,’ प्रवक्ता बस्नेतले भने । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार लागुऔषधको कारोबार, ओसारपसार र सेवनका घटनामा अधिकांश युवा हुने गरेका छन् । गत आर्थिक वर्षमा ८७ लागुऔषधसम्बन्धी मुद्दामा एक सय २७ पक्राउ परेकामा चालू आर्थिक वर्षको चार महिनामा मात्रै ४८ मुद्दामा ७१ जना पक्राउ परिसकेका प्रहरीको तथ्यांकले देखाएको छ ।
लुकीछिपी सेवन र ओसारपसार गर्नेको सख्या योभन्दा बढी हुनसक्ने बताइएको छ । भविष्यका कर्णाधार मानिने युवा यसरी लागुऔषध दुव्र्यसनीको सिकार हुने क्रम बढ्दै जाँदा समाजमा यो समस्याले गम्भीर रूप लिन थालेको प्रहरी अधिकृतको भनाइ छ । समाजमा हुने चोरी र लुटपाटका घटनामा कुलतमा फस्नेको संलग्नता रहने गरेको देखिएको छ ।
‘अधिकांश घटनामा कुलतमा लागेका युवाको संलग्नता बढी देखिने गरेको छ,’ प्रवक्ता बस्नेतले भने, ‘जसका कारण उनीहरूबाट नै समाजमा अशान्ति र चोरी गर्नेजस्ता घटना हुन थालेका छन् ।’ यसको कुलतमा लागेकाले भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै सजिलैसँग सीमा पारिबाट लागुऔषध भित्र्याई सेवन र कारोबार गर्ने गरेको पाइएको छ । पछिल्लो समयमा जिल्लामा बढीजसो ब्राउन सुगर र ट्याब्लेटको सेवन तथा कारोबार गर्ने बढी फेला पर्ने गरेको बताइएको छ । रासस